अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको समन्वयमा ०८३ जेठ १० गते मानव अधिकार रक्षक तथा महिला मानव अधिकार रक्षक सञ्जालको संयुक्त बैठक सम्पन्न भएको छ ।
पत्रकार महासंघ धनुषा शाखाको सभा हलमा सम्पन्न बैठकको अध्यक्षता महिला मानव अधिकार रक्षक सञ्जालकी मधेश प्रदेश अध्यक्ष रेखा झाले गर्नु भयो भने बैठकको प्रमुख आतिथ्यता राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश प्रमुख बुद्धनारायण सहनीले गर्नुभयो ।
बैठकमा मानव अधिकार रक्षकहरुले भोग्नु परेका सुरक्षा चुनौति, स्वास्थ्य प्रतिष्ठानमा हुने बेतिथि तथा मानव अधिकारकर्मीको सक्रिय अनुगमनकाबारे छलफल गरिएको थियो ।
इन्सेक प्रदेश संयोजक राजु पासवानले मानव अधिकारको संरक्षण, प्रवर्धन र पैरवीमा संलग्न व्यक्ति वा संस्थाहरूलाई आउन सक्ने भौतिक, मानसिक र कानुनी जोखिमबाट जोगाउन राज्य तथा सरोकारवाला निकायले अवलम्बन गर्ने मार्गनिर्देशक नीति तथा कानुन अपरिहार्य भएकोले यस नीति निर्माणमा निरन्तर प्रदेश सरकारलाई ध्यानाकर्षण गर्नुपर्ने बताउनु भयो । मधेश प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनाहरु बढेसँगै मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार, कुटपिट र धम्किले चुनौती पनि बढिरहेको बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश प्रमुख बुद्धनारायण सहनीले राज्यका स्थनीय र प्रादेशिक निकायले अधिकारकर्मीहरूको भूमिका र पहिचानलाई अझै पूर्ण रूपमा स्वीकार गर्न नचाहेको भन्दै मानव अधिकार रक्षकहरूको सुरक्षाका लागि छुट्टै र विशेष ऐन/कानुन निर्माण गर्न सरकारलाई निरन्तर सिफारिस र पैरवीको कार्यमा आयोग हमेशा अग्रसर रहदै आएको बताउनुभयो ।
त्यस्तै महिला मानव अधिकार रक्षक सञ्जालकी मधेस प्रदेश अध्यक्ष रेखा झाले लैङ्गिकताका आधारमा पुरुषको तुलनामा महिला मानव अधिकार रक्षकहरुले अझ बढी जोखिम तथा चुनौतीको सामना गरिरहनु परेको बताउनु भयो।
प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकहरुले सेवा बन्द गरेको सन्दर्भमा मानव अधिकार रक्षकहरुले सरोकारवालासँग समन्वय गर्ने विषयमा बैठकमा सहभागी मानव अधिकार रक्षकहरु विनोद महरा, पुरुषोत्तम यादव, समिता कुमारी, अमित मिश्रा जमुना भुजेल, सुभद्रा आलेलगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






