मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न

सुर्खेत । २०८३ असोज ८ गते

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशको बैठक ०८३ असोज ८ गते वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । सञ्जालका संयोजक पीताम्बर ढकालको अध्यक्षतामा बसेको बैठकले कर्णाली प्रदेशको मानव अधिकारको पछिल्लो अवस्थाको विषयमा जानकारी, ०८३ साउन २७ गते सम्पन्न प्रदेश स्तरीय मानव अधिकार सम्मेलनको समीक्षा, सञ्जालकाे महिला बालबालिका र शिक्षा, स्वास्थ्य तथा वातावरण अधिकार सम्बन्धी उपसमिति गठन, सञ्जालमा छुटेका संस्थाहरुको प्रतिनिधित्व र सञ्जालको आगामी कार्ययोजनाका विषयमा निर्णय गरिएको छ ।

बैठकमा भनाइ राख्दै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेशकुमार थापाले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि राज्य संयन्त्र, नागरिक समाज तथा मानव अधिकार रक्षकहरूबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । उहाँले रक्षक सञ्जाल जस्ता प्लेटफर्महरु आयोगको सूचनाको स्रोत रहेको बताउनु भयो ।

  उहाँले मानव अधिकार रक्षकहरूले समाजमा देखिएका विभेद, हिंसा र अन्यायका घटनालाई उजागर गर्दै पीडितलाई न्यायको पहुँचसम्म पुर्‍याउनुपर्ने भन्दै प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व बनाएर सञ्जाललाई थप मजबुत बनाउनुपर्ने बताउनु भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले सञ्जालले आगामी दिनहरुमा गर्ने कामहरुको विषयमा कार्ययोजना सुनाउँदै त्यसमा सबै संघसंस्था र सरोकारवालाहरुको सहयोग आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक पीताम्बर ढकालले कर्णालीमा मानव अधिकार रक्षकहरूले विभिन्न जोखिम र चुनौतीका बीच काम गरिरहेको भन्दै आगामी दिन सञ्जालले जिल्ला तहबाट समेत सुचना ल्याउने संयन्त्र आवश्यक रहेको बताउनु भयो ।

ढकालले मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धि, सुरक्षा तथा संस्थागत सुदृढीकरणका लागि प्रदेश तथा स्थानीय सरकारसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

बैठकमा सहभागी मानव अधिकार रक्षकहरूले जिल्लागत गतिविधि, चुनौती र आगामी कार्ययोजनाबारे अनुभव आदानप्रदान गरेका थिए । साथै मानव अधिकार संरक्षण, सुशासन प्रवर्द्धन र सामाजिक न्यायका सवालमा संयुक्त पहललाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कर्णाली प्रदेश कार्यालय