बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले मानव अधिकारको संरक्षण र प्रवर्द्धनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
इन्सेक बागमती प्रदेश र मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेशले ०८३ असोज २८ गते मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको पुस्तक हस्तान्तरण गर्ने क्रममा मन्त्री तामाङले मानव अधिकारको वास्तविक मर्मअनुसार अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले मानव अधिकारका क्षेत्रमा संस्कार र नैतिक मूल्यलाई समेत आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।
बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मानव अधिकारको क्षेत्रमा काम गर्दा संस्कार र नैतिक मूल्यलाई समेत आत्मसात् गर्नुपर्नेमा जोड दिँदै मन्त्री तामाङले मानव अधिकारको वास्तविक मर्म र भावनाअनुसार अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। इन्सेक बागमती प्रदेश र मानव अधिकार रक्षक सञ्जाल, बागमती प्रदेशले हस्तान्तरण गरेको मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको पुस्तक ग्रहण गर्दै मन्त्री तामाङले मानव अधिकारका सवाललाई अझ प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो। छलफलमा बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ र बागमती प्रदेशसभा सदस्य भारती पाठकको उपस्थिति थियो।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि जिल्लाका सबै स्थानीय तहसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
इन्सेक र मानव अधिकार रक्षक संजाल, बागमती प्रदेशको संयुक्त टोलीले मानव अधिकार रक्षकहरूको अधिकार, सुरक्षा तथा संरक्षणसम्बन्धी कानुन निर्माणको मागसहित तयार पारेको मागपत्र बागमती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रदेश सचिव रामबाबु पुरीलाई ०८३ असोज २८ गते हस्तान्तरण गरेको छ ।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामबाबु पुरीले मानव अधिकार रक्षकहरूको अधिकार, सुरक्षा तथा संरक्षणसम्बन्धी कानुन निर्माणको मागसहित तयार पारेको मागपत्र ग्रहण गर्दै कानुन निर्माणका लागि समय–समयमा सम्बन्धित निकायलाई झक्झक्याउँदै प्रक्रिया अघि बढाउन निरन्तर पहल गर्न आग्रह गर्नुभयो ।

त्यस्तै कानुन निर्माणको मागसहित तयार पारिएको मस्यौदा कानुन बागमती प्रदेश सभा कानुनी महाशाखाका उपप्रमुख प्रकाश चापागाईं मार्फत उप—सभामुख अप्सरा चापागाईंलाई असोज २८ गते हस्तान्तरण गरेको छ ।
पत्र ग्रहण गर्दै प्रदेश सभा कानुनी महाशाखाका उपसचिव प्रकाश चापागाईंले मानव अधिकारको क्षेत्रमा इन्सेकले लामो समयदेखि गर्दै आएको कामको प्रशंसा गर्नुभयो । उहाँले मानव अधिकार रक्षकहरूको अधिकार, सुरक्षा तथा संरक्षणसम्बन्धी कानुन निर्माणको विषयमा सकारात्मक प्रतिक्रिया दिँदै यस क्षेत्रमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समयसमयमा आवश्यक विषयमा ध्यानाकर्षण गराउँदै सहकार्यका साथ अघि बढ्नसमेत आग्रह गर्नुभयो ।
इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले मागपत्र हस्तान्तरण गर्दे मानव अधिकार रक्षकहरूको कामलाई सुरक्षित, स्वतन्त्र र प्रभावकारी बनाउन कानुनी व्यवस्था आवश्यक रहेको भन्दै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र कानुन निर्माण प्रक्रियामा यस विषयलाई प्राथमिकताका साथ समेट्न आग्रह गर्नुभयो ।
मागपत्रमा मानव अधिकार रक्षकको स्पष्ट परिभाषा, अधिकार र जिम्मेवारी निर्धारण, स्वतन्त्र रूपमा काम गर्न पाउने व्यवस्था, मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन तथा अभिलेखीकरण गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख छ।
त्यसैगरी धम्की, आक्रमण, दुर्व्यवहार तथा प्रतिशोधबाट संरक्षण, जोखिममा रहेका रक्षकलाई तत्काल सहायता, महिला तथा सीमान्तकृत समुदायका मानव अधिकार रक्षकका विशेष चुनौती सम्बोधन र प्रदेशस्तरीय समन्वय संयन्त्र निर्माण गर्नुपर्ने माग गरिएको छ।

मानव अधिकार रक्षकहरूले मानव अधिकार उल्लङ्घनका घटनाको निगरानी, अभिलेखीकरण, पीडितलाई न्यायका लागि सहजीकरण तथा राज्यका निकायलाई जवाफदेही बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आए पनि उनीहरू स्वयं धम्की, दबाब, दुर्व्यवहार, भौतिक असुरक्षा तथा सामाजिक बहिष्करणजस्ता जोखिममा पर्ने गरेको मागपत्रमा उल्लेख छ।
बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घन, जातीय तथा लैङ्गिक विभेद, हिंसा, सामाजिक विभेद र सीमान्तकृत समुदायका अधिकारसँग सम्बन्धित विषयमा मानव अधिकार रक्षकहरूले निरन्तर काम गर्दै आएतापनि उनीहरूको सुरक्षा र संरक्षणलाई व्यक्तिगत समस्याका रूपमा मात्र नहेरी प्रदेश सरकारको नीतिगत तथा कानुनी प्राथमिकताका रूपमा सम्बोधन गर्नुपर्ने अधिकारकर्मीहरुले माग गरेका छन् ।
उक्त कार्यक्रममा मानव अधिकार रक्षक संजाल, बागमती प्रदेशका सल्लाहकार कमलकुमार विश्वकर्मा, मानव अधिकार रक्षक संजाल, बागमती प्रदेशका सदस्यहरु कुमारी वाईबा, शर्मिला श्रेष्ठ, आशिष दुलाल, शारदा चौलागाईं र विनोद ढकाल, गोविन्द न्यौपाने, सीता ठकुरीलगायतको सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL







