इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार सहायकता कक्षको बैठक ०८३ भाद्र ३० गते धनगढीमा सम्पन्न भएको छ ।
बिगत लामो समयदेखि विभिन्न प्रकारको हिंसाबाट पीडित भएका महिला तथा बालबालिकाहरुलाई मानव अधिकार सहायता कक्षमार्फत सहयोग गरिदै आइएको र यस पटक पनि दुई जना घरेलु हिंसा पीडित महिलाहरुको न्यायका लागि सहयोग रकम प्रदान गरिएको र दुई जना थप पीडितहरुको न्यायका लागि पहल गर्नु पर्ने भएकोले मानव अधिकार सहायता कक्षको बैठक आयोजना गरिएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले बताउनु भयो ।
मानव अधिकार सहायता कक्षका अध्यक्ष देवी खनालले घरेलु हिंसालगायत विभिन्न कारणले पीडित भएर घरबारविहीन भएका महिला तथा बालबालिकाहरुको सुरक्षा, संरक्षण तथा न्यायका लागि प्रदेश सरकारले पुनस्र्थापना केन्द्र स्थापनका लागि बजेटको व्यवस्था गरी सञ्चालनमा ल्याउन मानव अधिकार रक्षक सञ्जाल तथा मानव अधिकार सहायता कक्षको तर्फबाट सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई १० बुँदे ध्यानकर्षण पत्र बुझाएको बारेमा बैठकमा जानकारी गराउनु भएको थियो ।

महिला तथा बालाबालिकामाथि हुने हिंसाका घटनाहरु निरन्तर रुपमा भइरहेकोले उनीहरुको न्यायका लागि मानव अधिकार सहायता कक्षमार्फत सहयोग गर्नुको साथै मनोसामाजिक परामर्शको समेत आवश्यकता रहेको महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष अम्बिका भण्डारीले बताउनु भयो ।
मानव अधिकार सहायता कक्ष प्रदेशस्तरीय बैठक मार्फत पीडितहरुलाई प्रदान गरिएको सहयोग रकम अनुमोदन गरिनुको साथै सहयोगका लागि प्राप्त दुई ओटा पीडितका निवेदनहरुलाई अध्ययन गरी सहयोगका लागि अन्य सस्थाहरुमा समेत सिफारिस गर्ने निर्णय समेत गरिएको सहायता कक्षका संयोजक खनालले बताउनु भयो ।
बैठकमा सहयता कक्षका पदाधिकारी, विभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






