मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

धनुषा । २०८३ असोज १५ गते

डीसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्षको बैठक ०८३ असोज १४ गते जनकपुरधाममा सम्पन्न भएको छ।

सहायता कक्षका संयोजक अधिवक्ता राजकुमार महासेठको अध्यक्षतामा सम्पन्न बैठकमा मानव अधिकार सहायता कक्षमार्फत हिंसा प्रभावितलाई प्रदान गरिएको आर्थिक सहयोगको प्रभाव, लाभग्राहीको अवस्थाको पछिल्लो स्थिति तथा उनीहरूको न्यायिक उपचारमा पहुँचका विषयमा छलफल गरिएको थियो।

संयोजक महासेठले हिंसा प्रभावितलाई उपलब्ध गराइने सहयोग राहतमा मात्र सीमित नराखी उनीहरूको न्याय प्राप्तिको प्रक्रियासँग जोडिनुपर्ने बताउनुभयो। उहाँले पीडितको आवश्यकता समयअनुसार परिवर्तन हुनसक्ने भएकाले सहायता प्रदान गरेपछिको अवस्थाबारे नियमित जानकारी लिनुपर्ने उल्लेख गर्दै सहायता कक्षले सम्बन्धित निकायसँगको सहकार्य र पीडितको अवस्थाको निरन्तर अनुगमनलाई प्रभावकारी बनाउने बताउनुभयो।

राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका मानव अधिकार अधिकृत राहुलकुमार ठाकुरले सहायता उपलब्ध गराइएका पीडितको अवस्थाबारे नियमित जानकारी लिँदै सहयोगपछि उनीहरूको न्यायिक तथा सामाजिक अवस्था कस्तो रह्यो भन्ने विषयलाई अभिलेखमा राख्नुपर्ने बताउनुभयो। उहाँले पीडितले पाएको सहयोग प्रभावकारी भए–नभएको पहिचान गरी आवश्यकताअनुसार सम्बन्धित निकायबाट थप सेवा तथा संरक्षणको व्यवस्था मिलाउन समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

एमनेष्टी इन्टरनेशनलकी जमुना भुजेलले हिंसाबाट प्रभावित महिला तथा बालिकाका लागि तत्काल प्राप्त हुने सहयोगले संकट व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आर्थिक कठिनाइका कारण न्यायिक प्रक्रियाबाट पछि हट्नुपर्ने अवस्था आउन नदिन सहायता कक्षबाट उपलब्ध गराइने सहयोगलाई पीडितको आवश्यकता र अवस्थासँग जोडेर निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले आर्थिक अभाव र सामाजिक पहुँचको कमीका कारण सहायता पाउनबाट वञ्चित हुनसक्ने हिंसा प्रभावितको पहिचान गरी सहायता कक्षसम्म पुर्या‍उन मानव अधिकार रक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। उहाँले पीडितलाई तत्काल आर्थिक सहयोगसँगै कानुनी परामर्श, न्यायिक निकायसम्मको पहुँच र आवश्यक संरक्षणका सेवासँग जोड्नुपर्नेमा जोड दिनुभयो। पीडितको आवश्यकता अनुसार प्रभावकारी सेवा प्रवाहका लागि सम्बन्धित सरोकारवाला निकायबीच नियमित समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।

बैठकमा सहायता कक्षमार्फत सिरहा जिल्लाको दुई जना तथा रौतहटको एक जना हिंसा प्रभावितलाई जनही १० हजार रुपियाँका दरले उपलब्ध गराइएको आर्थिक सहयोगबारे जानकारी प्रस्तुत गरिएको थियो। बैठकले उक्त सहायता रकम अनुमोदन गर्ने निर्णय ग¥यो ।सहायता प्राप्त गरेका पीडितहरूको अवस्थासमेत समीक्षा गर्दै आगामी दिनमा सहयोगको प्रभाव, न्यायिक प्रक्रियामा उनीहरूको पहुँच र थप आवश्यकताबारे निरन्तर अनुगमन गर्ने विषयमा छलफल भएको थियो।

बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत राहुलकुमार ठाकुर , एड्भोकेसी फोरम नेपालका राजकुमार महासेठ ,  नीलहिरा समाजका मधेस प्रदेश संयोजक प्रदीप यादव, मानव अधिकारकर्मी जमुना भुजेल, थर्ड एलायन्स मधेस प्रदेश संयोजक अर्जुन शाह, शान्ति पुनरस्थापना गृहकि धनुषा संयोजक रिना झा कायापलटकि समिता कुमारी ,आफन्त नेपालकि सिमा झा , पत्रकार रञ्जन भण्डारी ,इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवान तथा  प्रलेख अधिकृत ममता विश्वकर्मा लगायतको उपस्थिति थियो।

मधेस प्रदेश कार्यालय