मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल सम्पन्न

कैलाली । २०८२ पुस १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम ०८२ पुस १६ गते धनगढीमा सम्पन्न भएको छ ।

इन्सेक प्रदेश संयोजक खडकराज जोशीले इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत स्थानीय तह र विभिन्न संघसंस्थाहरुको सिफारिसमा हिंसामा परेका पीडित महिला र बालिकाहरुलाई कानुनी प्रक्रियामा जानका लागि सहज वातावरण बनाई दिन तथा पीडितको न्यायमा सहज पहुँच पुर्‍याउन आर्थिक सहयोग गर्दै आइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘इन्सेकको बजेट व्यवस्थापन गरेको भए पनि यो सहयोग इन्सेकको मात्र नभई विभिन्न संघसंस्थाहरुको पनि सहयोग र योगदान छ । पीडितलाई सहयोगका लागि जिल्लास्थित सबै संघसंस्थाहरुले सिफारिस गर्नुभएकाले सबै संघसंस्थाहरुले पनि अपनत्व लिनु पर्दछ । आगामी दिनहरुमा पनि पीडितको न्यायका पक्षमा सबैले सहयोग गर्न आवश्यक छ  ।’

गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा मानव अधिकार सहायता कक्षका संयोजक देविप्रसाद खनालले मानव अधिकार सहायता कक्ष मार्फत घरेलु तथा यौन हिंसामा परेका आर्थिक अवस्था दयनीय भएका पीडितलाई न्यायिक प्रक्रियाका लागि सन् २०२५ जनवरीदेखि डिसेम्बरसम्म १८ जना पीडितको फाइल अनुमोदन भइसकेको र ११ जना पीडितको फाइल अनुमोदन गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकार सहायता कक्षमार्फत यस वर्ष २९ जना पीडित मध्ये १७ जना बलात्कार घतना पीडित, नौ जना घरेलु हिंसा घटनाका पीडित, दुई जना बेचबिखनमा परेका र एक जना हत्या घटनाका पीडितलाई १० हजार रुपियाँका दरले आर्थिक सहयोग  गरेको संयोजक खनालले बताउनु भयो ।

मैनामोती चौधरी