अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक बैठक ०८२ चैत १७ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक प्रदेश संयोजक खडकराज जोशीले इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत स्थानीय तह र विभिन्न संघसंस्थाहरुको सिफारिसमा सन् २०२५ मा विभिन्न हिंसामा परेका पीडित महिला र बालिकाहरुलाई कानुनी प्रक्रियामा सहज वातावरण बनाउन २९ जनालाई र सन् २०२६ जनवरीदेखि मार्चसम्म दुई जनालाई आर्थिक सहयोग गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो—‘इन्सेकले बजेटको व्यवस्था गरेको भए पनि यो सहयोग इन्सेकको मात्र नभई विभिन्न संघसंस्थाहरुले पीडितलाई सहयोग गरी दिन भनी सिफारिस गरिरहेको अवस्थामा सबै संघसंस्थाहरुको अपनत्व रहेको छ । आगामी दिनहरुमा पनि पीडितहरुको न्यायका पक्षमा सबैको सहयोग र समन्वय आवश्यक छ ।’

गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा मानव अधिकार सहायता कक्षका संयोजक देवीप्रसाद खनालले मानव अधिकार सहायता कक्ष मार्फत घरेलु तथा यौन हिंसाका पीडित तर आर्थिक समस्यामा परेका पीडितलाई न्यायिक प्रक्रियाका लागि सहायता कक्षमार्फत प्रदान गरेको आर्थिक सहयोग अनुमोदन गर्न र पीडितहरुको न्यायमा सहज पहुँच पुगाउन बैठकको आयोजना गरिएको बताउनु भयो ।
मानव अधिकारका लागि महिला एकल महिला समूहकी संयोजक वेद अवस्थीले सरकार र संघसंस्थाहरुले मनाउदै आएको बिभिन्न प्रकारका दिवससमारोहसँगै मानव अधिकार सहायता कक्षका लागि पनि बजेट विनियोजन गरी पीडितलाई कानुनी प्रक्रियामा सहयोग गर्नु आवश्यक भएको बताउनु भयो ।
HUMAN RIGHTS NEWS PORTAL






