लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान म्याग्दीमा विभिन्न चेतनामूलक कार्यक्रम गरी सुरु गरिएको छ । एकीकृत सेवा कार्यालय बेनी र मिलन म्याग्दीको आयोजना तथा इन्सेकलगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा ०८३ मङ्सिर ९ गते अभियानको शुभारम्भ गरिएको हो ।
अभियानको सुरुवातमा बेनीको वीरेन्द्रचोकदेखि जिल्ला समन्वय समितिको सभाहलसम्म प्रभातफेरी आयोजना गरिएको थियो । प्रभातफेरीपछि डकुमेन्ट्री प्रदर्शन तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान सञ्चालन गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले लैङ्गिक हिंसाविरुद्धको अभियानलाई महत्वपूर्ण रूपमा लिनुपर्ने बताउनुभयो । हिंसा अन्त्यका लागि सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख दिलकुमारी खत्री र बेनी नगरपालिकाका प्रमुख सुरत केसीलगायतले लैङ्गिक हिंसा अन्त्यका लागि परिवार, विद्यालय, समुदाय, स्थानीय तह, सरकारी निकाय र नागरिक समाजको साझा जिम्मेवारी रहने बताउनुभयो ।
अभियानको पृष्ठभूमि र उद्देश्यबारे जानकारी गराउँदै वक्ताहरूले महिला तथा बालिकामाथि हुने हिंसा समग्र समाज र राष्ट्रकै साझा समस्या भएकाले यसको अन्त्यका लागि सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि सामूहिक प्रतिबद्धता जनाउँदै अभियानको ब्यानरमा हस्ताक्षर गरेका थिए ।

एकीकृत सेवा कार्यालय म्याग्दीका प्रमुख मिताकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, नेपाल पत्रकार महासङ्घ, शिक्षण संस्था तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
HUMAN RIGHTS NEWS PORTAL







