लैङ्गिक हिंसा अन्त्यका लागि सरकार, नागरिक समाज र समुदाय सबै पक्ष एकजुट हुनुपर्नेमा गण्डकी प्रदेशका सरोकारवालाहरुले जोड दिएका छन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश, मानव अधिकार रक्षक सञ्जाल गण्डकी प्रदेश र विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा मङ्सिर ९ गते पोखरामा आयोजित प्रभातफेरीपछि आयोजित कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित शहिदचोकबाट सुरु भएको प्रभातफेरी पोखराका विभिन्न भागको परिक्रमा गरी बिरौटाचोकमा पुगेर समापन भएको थियो । प्रभातफेरीमा सहभागीहरूले ‘लैङ्गिक हिंसा अन्त्य गरौँ’, ‘पीडितलाई न्याय देऊ’ र ‘दण्डहीनताको अन्त्य गरौँ’ लगायतका सन्देश लेखिएका प्लेकार्ड तथा ब्यानर प्रदर्शन गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले लैङ्गिक हिंसा अन्त्य गर्नु सरकारको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको बताउनुभयो । लैङ्गिक हिंसा कुनै एउटा घर वा परिवारको मात्र समस्या नभई समग्र समाजको समस्या भएकाले यसको अन्त्यका लागि सबै पक्ष ऐक्यबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री गुरुङले हिंसा प्रभावितको संरक्षण, दोषीलाई कानुनी कारबाही र पीडितलाई शीघ्र न्याय दिलाउनु सरकारको प्राथमिकता रहेको बताउनुभयो । घरभित्र हुने हिंसालाई लुकाएर राख्ने प्रवृत्तिको अन्त्य गर्न परिवार, छिमेकी र समुदायले समेत पीडितको पक्षमा आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले लैङ्गिक हिंसा कानुनद्वारा दण्डनीय अपराध भएकाले कुनै पनि बहानामा पीडकलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । उहाँले पीडितलाई निर्धक्क भएर उजुरी गर्न आग्रह गर्दै हिंसाका घटना लुकाउने र मिलापत्रका नाममा पीडितलाई दबाब दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतना अभिवृद्धिसँगै व्यवहार परिवर्तन र कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । छोरा र छोरीलाई परिवारबाटै समान सम्मान र अवसर प्रदान गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले अभियानलाई १६ दिनमा मात्र सीमित नगरी वर्षभरि निरन्तरता दिनुपर्ने बताउनुभयो ।
गैरसरकारी संस्था महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष इन्दिरा पौडेलले लैङ्गिक हिंसाविरुद्ध मौन बस्ने नभई पीडितको पक्षमा आवाज उठाउनुपर्ने बताउनुभयो । हिंसा गर्ने व्यक्ति जति ठूलो भए पनि कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै उहाँले पीडितलाई संरक्षण, कानुनी सहायता र न्याय उपलब्ध गराउन सरकार तथा नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, सरकारी कर्मचारी, मानव अधिकारकर्मी, सामाजिक अभियानकर्मी, पत्रकार, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, सरकारी अधिकारी, सुरक्षा निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूले लैङ्गिक हिंसा अन्त्य गर्ने सामूहिक प्रतिबद्धतासहित ब्यानरमा हस्ताक्षर गरेका थिए ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यस वर्षको अभियानले पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चिततालाई प्राथमिकता दिएको छ ।
HUMAN RIGHTS NEWS PORTAL







