लैङ्गिक हिंसा न्यूनीकरणमा युवा तथा बालबालिकाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धनुषा । २०८३ असोज २२ गते

‘बालबालिका र युवाको आवाज, हिंसामुक्त समाजको सुरुवात’ भन्ने नाराका साथ लैङ्गिक हिंसा न्यूनीकरणमा युवा तथा बालबालिकाको भूमिका विषयक गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगिता २०८३ असोज २१ गते लक्ष्मीनिया जनता माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

लक्ष्मीनिया गाउँपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, आफन्त नेपाल धनुषा, रतौली युवा क्लब र लाइफ नेपालको संयुक्त सहयोग एवं समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा बी.पी. कोइराला माध्यमिक विद्यालय, सपही; जनता आधारभूत विद्यालय, बनिगामा; लक्ष्मीनिया जनता माध्यमिक विद्यालय; श्री आधारभूत विद्यालय, भंगहा; विलट साह सर्वोदय माध्यमिक विद्यालय, सिंहरजोडा र ज्ञानोदय माध्यमिक विद्यालयका १२ जना विद्यार्थी सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले लैङ्गिक हिंसा, बालविवाह तथा मानव बेचबिखनजस्ता सामाजिक विकृति न्यूनीकरणका लागि बालबालिका तथा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले हिंसाविरुद्ध आवाज उठाउने वातावरण निर्माण गर्न परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारबीच सहकार्य हुनुपर्ने उल्लेख गर्नुभयो। प्रतियोगिताबाट प्राप्त ज्ञान, सीप र सन्देशलाई परिवार तथा समुदायसम्म पु¥याउन विद्यार्थीलाई आग्रह गर्दै उहाँले बालबालिका र युवालाई सामाजिक रूपान्तरणका संवाहकका रूपमा अघि बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

त्यस्तै लक्ष्मीनिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिथिलेश ठाकुरले लैङ्गिक हिंसा न्यूनीकरणका लागि परिवार, विद्यालय र समुदायबाटै सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। उहाँले बालबालिका तथा युवालाई हिंसाका घटना पहिचान गरी त्यसविरुद्ध आवाज उठाउन सक्षम बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। हिंसामुक्त समाज निर्माणका लागि बालबालिका, युवा, अभिभावक, शिक्षक, समुदाय र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।

इन्सेक मधेस प्रदेश कार्यालयका प्रदेश संयोजक राजु पासवानले लैङ्गिक हिंसा, बालविवाह र मानव बेचबिखन न्यूनीकरणका लागि बालबालिका तथा युवालाई अधिकार र हिंसाविरुद्ध सचेत बनाउनुपर्ने बताउनुभयो। उहाँले विद्यालय, परिवार, समुदाय र स्थानीय सरकारबीचको सहकार्यबाट हिंसामुक्त समाज निर्माण गर्न सकिने उल्लेख गर्दै विद्यार्थीलाई आफ्ना अधिकारप्रति सचेत हुँदै हिंसाविरुद्ध आवाज उठाउन आग्रह गर्नुभयो।

आफन्त नेपाल धनुषाकी संयोजक अमृता घिमिरेले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागि संस्थाले निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले बालबालिका तथा युवालाई बेचबिखनको जोखिमबाट सुरक्षित राख्न परिवार, विद्यालय र समुदायको समन्वयात्मक भूमिका आवश्यक रहेको उल्लेख गर्नुभयो। जोखिम पहिचान, सचेतना अभिवृद्धि तथा समयमै संरक्षणका लागि सरोकारवाला निकायबीच सहकार्य सुदृढ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रतियोगितामा विद्यार्थीहरूले लैङ्गिक हिंसा, बालविवाह, मानव बेचबिखन तथा हिंसामुक्त समाज निर्माणमा युवा र बालबालिकाको भूमिकाबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए। लक्ष्मीनिया गाउँपालिकाको शिक्षा शाखा प्रमुख जयकुमार यादवको संयोजकत्वमा इन्सेक मधेस प्रदेश कार्यालयका प्रदेश संयोजक राजु पासवान र आफन्त नेपाल धनुषाकी संयोजक अमृता घिमिरे सदस्य रहेको तीन सदस्यीय निर्णायक मण्डलले प्रतियोगिताको नतिजा सार्वजनिक गरेको थियो।

निर्णायक मण्डलको निर्णयअनुसार लक्ष्मीनिया जनता माध्यमिक विद्यालयकी राधिका भण्डारी प्रथम, सोही विद्यालयका समिर रायन द्वितीय र बी.पी. कोइराला माध्यमिक विद्यालय, सपहीकी अमना खातुन तृतीय हुनुभयो। जनता आधारभूत विद्यालय, बनिगामाकी शिवानी कुमारी यादवले चौथो स्थान हासिल गर्दै सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो।त्यसैगरी श्री आधारभूत विद्यालय, भंगहाकी गुडिया कुमारी यादव र दीपिका अधिकारी, जनता आधारभूत विद्यालय, बनिगामाका राजबाबु यादव, ज्ञानोदय माध्यमिक विद्यालयका क्रितान्त कुमार साह र मुस्कान कुमारी मण्डल, विलट साह सर्वोदय माध्यमिक विद्यालय, सिंहरजोडाका सोनिका यादव र मञ्जु मण्डल तथा बी.पी. कोइराला माध्यमिक विद्यालय, सपहीकी रागिनी कुमारी यादवलाई पनि सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।विजयी तथा सहभागी विद्यार्थीलाई गाउँपालिका अध्यक्ष मिश्र, इन्सेक मधेस प्रदेश कार्यालयका प्रदेश संयोजक पासवानलगायत शिक्षक–शिक्षिकाले पुरस्कार वितरण गर्नुभयो।

कार्यक्रमको समापन गर्दै श्री लक्ष्मीनिया जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक झाले लैङ्गिक हिंसा, बालविवाह, मानव बेचबिखन तथा अन्य सामाजिक विकृतिको न्यूनीकरणका लागि विद्यालय तहदेखि नै बालबालिका तथा युवामा सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। उहाँले सामाजिक समस्या, हिंसाका स्वरूप, त्यसका असर र न्यूनीकरणका उपायबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन सके उनीहरू आफ्ना अधिकारप्रति सचेत हुनुका साथै गलत अभ्यासविरुद्ध आवाज उठाउन सक्षम हुने उल्लेख गर्नुभयो।

बालबालिका तथा युवालाई सामाजिक रूपान्तरणका सक्रिय साझेदारका रूपमा विकास गर्न विद्यालय, परिवार र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउँदै उहाँले विद्यार्थीको वक्तृत्वकला, नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धिसँगै सामाजिक सवालप्रति जिम्मेवार बनाउने कार्यक्रमलाई विद्यालयले प्राथमिकताका साथ निरन्तरता दिने बताउनुभयो।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, मानव अधिकारकर्मी तथा सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो।

 सन्तोष कुमार यादव