सुकुम्वासी अस्थायी आवासगृहको राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकद्वारा अनुगमन

काभ्रे । २०८३ जेठ ५ गते

राष्ट्रिय मानव अधिकार आयोग, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र सिजपका प्रतिनिधिले ०८३ जेठ ४ गते सुकुम्वासीहरुलाई अस्थायी रुपमा राखिएको वनेपा स्थित रेडक्रस तालिम केन्द्रको संयुक्त रुपमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय प्रशिक्षण केन्द्र बनेपा, बुडोलमा ५८ जना पुरुष र ५३ जना महिला गरी १ सय ११ जनालाई राखिएको पाइएको छ । उनीहरुलाई ०८३ वैशाख २४ गतेदेखि उक्त स्थानमा राखिएको हो ।

   

जसमा १८ जना ज्येष्ठ नागरिक, २३ जना बालवालिका र विशेष अवस्था जस्तै अपाङ्गता, दृष्टिविहिन, दिर्घरोगी बिरामी र सुत्केरी गरी ६ जना रहेका छन् । उनीहरुलाई काठमाडौंको थापाथली, शान्तिनगर, मनोहरा र माछापोखरीबाट ल्याएर कोठा नम्बर १०१ देखि ६०२ र तालिम हल समेत गरी ११ ओटा कोठामा व्यवस्थापन गरी राखिएको छ ।

तालिम केन्द्रमा भर्खर जन्मिएका शिशुदेखि ८० वर्ष सम्मका ज्येष्ठ नागरिक रहेका छन् । अनुगमनका क्रममा १७ जना र सात जनासम्मको परिवारलाई एउटै कोठामा राखिएको पाइएको छ ।

 

रेडक्रस तालिम केन्द्रमा राखिएका १ सय ११ जनामा बालबालिका, ज्येष्ठ नागरिक र विशेष स्वास्थ्य अवस्था भएका व्यक्तिहरूको संख्या उल्लेखनीय रहेकाले औषधी, राहत र दिगो व्यवस्थापन आवश्यक रहेको उनीहरुले अनुगमनका क्रममा बताए ।

आयोगको टोलीसमक्ष विस्थापितहरुले आफूहरू बस्नका लागि जग्गाको व्यवस्थापन सहित स्थायी पुर्नस्थापना, बालबालिकाको जन्म दर्ता नभएका कारण विद्यालयको पहुँचमा कठिनाई, धेरै बालबालिकाको जन्म दर्ता नभएका कारण कानुनी पहिचानमा समस्या रहेको, नियमित औषधीउपचार, खानेपानी र बिजुलीजस्ता आधारभूत आवश्यकताको अभाव भएको बताए ।

यहाँ रहेका सुकुम्बासीका लागि रेडक्रसले खाना र खाजाको व्यवस्था गरेको छ । चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण पनि गरेको छ । केही सुकुम्बासीलाई प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा आफ्नै ठाउँ सिरहा पठाइएको अनुगमनका क्रममा पाइएको छ ।

अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारी, अधिकृत खिमानन्द बस्याल, इन्सेकका सूचना अधिकारी कृष्ण गौतम, इन्सेक बागमती प्रदेशका संयोजक शिव खकुरेल, इन्सेक काभ्रे जिल्ला प्रतिनिधि सुमित्रा आचार्य, सिजपका कार्यक्रम व्यवस्थापक अभिषेक तिवारी रहेका थिए । टोलीले अस्थायी आवास गृहमा राखिएका विस्थापितहरू, रेडक्रसका उपनिर्देशक रश्मि श्रेष्ठ, जनशक्ति विकास अधिकृत कपिल काफ्लेसँग छलफल गरेको थियो ।

त्यसैगरी उक्त टोलीले भक्तपुर स्थित खरिपाटी विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरको पनि अनुगमन गरेको थियो ।    

सुमित्रा आचार्य