स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न गाउँपालिकालाई ध्यानाकर्षण
तनहुँ । २०७८ मङ्सिर २७ गते
स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधानको माग गर्दै मानव अधिकार समूह बन्दिपुरले बन्दिपुर गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्वारा बन्दिपुर गाउँपालिका गठन गरिएको मानवअधिकार समूहकी संयोजक शान्ति कुँवर र इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको हस्ताक्षर रहेको सो ध्यानाकर्षण पत्र मङ्सिर २४ गते इन्सेक प्रतिनिधिले बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीलाई हस्तान्तरण गरेका थिए ।

बन्दिपुर गाउँपालिका–२ स्थित कुकुर्दी आधारभुत स्वास्थ्य केन्द्रमा इन्सेकले मङ्सिर २३ गते आयोजना गरेको स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूबाट स्वास्थ्यसँग सम्बन्धित विषयहरू समस्याको रूपमा उठाइएको हुँदा उक्त विषयहरूलाई सम्बोधन गर्न माग गर्दै सो ध्यानाकर्षण पत्र बुझाइएको मानवअधिकार समूहकी संयोजक कुँवरले बताउनुभयो ।
ध्यानाकर्षण पत्रमा कुकुर्दी आधारभुत स्वास्थ्य इकाईको नयाँ भवन निर्माण सम्पन्न भएपनि फर्निचर नहुँदा कार्यालय व्यवस्थापन गर्न समस्या परेको, बिरामीलाई निःशुल्क रूपमा वितरण गरिने ३८ प्रकारका औषधिहरू मध्ये अत्यावश्यक रूपमा रहेको सिटामोलको अभाव भएको हुँदा यथाशिघ्र सिटामोलको व्यवस्था गर्न, एक जना अहेवको भरमा उक्त स्वास्थ्य संस्था सञ्चालन रहेको, बिरामी मध्ये अधिकांश महिलाहरू हुने हुँदा महिला बिरामीले पुरूष अहेवसँग स्वास्थ्य परीक्षण गर्न अप्ठ्यारो मान्ने गरेको, महिलाको प्रसुति तथा गर्भ परीक्षणसम्बन्धी स्वास्थ्य परीक्षणको लागि समेत थप एक जना अनमीको व्यवस्थापन गर्न माग गरिएको छ ।

त्यस्तै गत वर्ष गाउँपालिकाले विपन्न वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गरेकोमा यस वर्ष उक्त बिमा नविकरण नभएको हुँदा बिरामीहरूले निःशुल्क रूपमा स्वास्थ्य उपचार सेवा प्राप्त गर्न नपाएको कारण विपन्न वर्गका नागरिकलाई स्वास्थ्य बिमाको नविकरण गर्न, जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण घर दैलो स्तरमा नै गर्न र बालबालिकाको खोप केन्द्र पायक नपर्ने स्थानमा रहेको हुँदा उक्त कुकुर्दी स्वास्थ्य केन्द्रमा नै खोप केन्द्रको व्यवस्थापन गर्न माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले औषधिको टेण्डर प्रक्रिया भइरहेको हुँदा चाँडै नै पर्याप्त औषधि उपलब्ध गराइने बताउनुभयो । त्यस्तै उक्त स्वास्थ्य चौकीमा एक जना अनमीको व्यवस्था यथाशिघ्र गराइने बताउनुभयो । अन्य विषयहरूलाई स्वास्थ्य शाखासँग समन्वय गरी सम्बोधन गरिने उहाँले बताउनुभयो ।
प्रकाशचन्द्र भट्टराई
HUMAN RIGHTS NEWS PORTAL






