हेटौँडामा व्यवसाय र मानव अधिकार विषयक प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

मकवानपुर । २०८२ वैशाख २४ गते

इन्सेक बागमती प्रदेशको आयोजनामा ०८३ वैशाख २३ गते व्यवसाय र मानव अधिकार विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम हेटौँडामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेकका अध्यक्ष विजयराज गौतमले नेपालमा सञ्चालित व्यवसायलाई मानव अधिकारमैत्री र जवाफदेही बनाउने, संयुक्त राष्ट्रसंघका मार्गनिर्देशक सिद्धान्त कार्यान्वयन गर्ने तथा सरकारको पाँचौँ राष्ट्रिय मानव अधिकार कार्ययोजनालाई प्रभावकारी रूपमा लागू गर्ने उद्देश्यसहित इन्सेकले काम गर्दै आएको जानकारी दिनुभयो ।

    

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईंले व्यवसाय र मानव अधिकारसम्बन्धी प्रस्तुतीकरण गर्दै यसको अवधारणा, व्यावसायिक क्षेत्रसँग जोडिएका मानव अधिकारका सवाल, उद्यमहरूले पार्ने बहुआयामिक प्रभाव तथा संयुक्त राष्ट्रसंघका मार्गनिर्देशक सिद्धान्तबारे प्रकाश पार्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना लामाले मानव अधिकार उल्लंघन हुने कुनै पनि कार्य अघि नबढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मानव अधिकारले सम्मानजनक जीवनयापनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसको संरक्षणका लागि जनप्रतिनिधिहरू सधैं सक्रिय रहने बताउनुभयो। साथै, मानव अधिकारलाई ध्यानमा राख्दै सुकुम्बासी बस्ती व्यवस्थापनबारे नगरपालिका स्तरमा छलफल भइरहेको जानकारी दिनुभयो ।

       

विशिष्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले दुर्गम क्षेत्रमा मानव अधिकारको अवस्था कमजोर रहेको उल्लेख गर्दै भौगोलिक विकटताका कारण आधारभूत सेवा–सुविधामा समेत पहुँच न्यून रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबहादुर खत्रीले पछिल्लो समय मकवानपुरमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले होटल, डान्सबार तथा उद्योग क्षेत्रमा श्रमिक शोषण, असुरक्षित कार्य वातावरण तथा महिला र बालबालिकामाथि हुने दुर्व्यवहारका घटना देखिँदै आएको बताउनुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले मानव अधिकार संरक्षणका लागि इन्सेक निरन्तर सक्रिय रहेको र हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आवाज उठाउँदै आएको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत, कानुन तथा संवैधानिक मामिला महाशाखा प्रमुख लोकहरी बस्याल, उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष कुमार पौडेल, बागमती प्रदेश उपाध्यक्ष अजय अधिकारी, कमल कुमार विश्वकर्मा तथा महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष आरती पाठकलगायतले मन्तव्य राख्नुभएको थियो ।

  मञ्जिता मैनाली