हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बाल सुधार गृहमा क्षमताभन्दा दोब्बरभन्दा बढी बालक राखिएको पाइएको छ। इन्सेक बागमती प्रदेश र मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेशको टोलीले असोज २९ गते गरेको अनुगमनका क्रममा साँघुरो आवास, स्वास्थ्य उपचारको अभाव, सीमित जनशक्ति र बजेटलगायतका समस्या पाइएको हो।
३० जनाको क्षमता रहेको सुधार गृहमा हाल ७१ जना बालक रहेका छन्। सुधार गृहका प्रमुख वासुदेव यादवका अनुसार त्यहाँ रहेका बालकमध्ये करिब ७० प्रतिशत जबरजस्ती करणीसम्बन्धी कसुर, २० प्रतिशत लागूऔषधसम्बन्धी कसुर र १० प्रतिशत अन्य कसुरमा रहेका छन्। सुधार गृहमा मकवानपुर र चितवनका बालकको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो।
बाल सुधार गृहकै प्रयोजनका लागि निर्माण गरिएको भवन नहुँदा आवास तथा व्यवस्थापनमा समस्या भइरहेको यादवले जानकारी दिनुभयो। कर्मचारीका लागि एउटै कार्यालय कोठा मात्र रहेकाले दैनिक कामकाज सञ्चालन गर्नसमेत कठिनाइ भइरहेको छ।

सुधार गृहमा रहेका बालकमा छालासम्बन्धी समस्या देखिने गरे पनि स्टाफ नर्सको व्यवस्था नहुँदा सामान्य उपचारका लागि समेत अस्पताल लैजानुपर्ने अवस्था छ। सुरक्षाका लागि सात जना सुरक्षाकर्मी कार्यरत रहेको सुधार गृहमा छुट्टै वार्षिक बजेटको व्यवस्था नभएको यादवले बताउनुभयो। उहाँका अनुसार भीमफेदीबाट उपलब्ध हुने रकमबाट प्रतिव्यक्ति दैनिक ८० रुपैयाँका दरले खर्च व्यवस्थापन हुँदै आएको छ भने प्रतिव्यक्ति दैनिक ७०० ग्राम चामल उपलब्ध गराउने व्यवस्था छ।
संघीय सरकारको मातहतमा रहेको संरचनाको व्यवस्थापनमा विभिन्न समस्या रहेको यादवको भनाइ छ। उमेर पुगेका व्यक्तिलाई समेत अन्य बालकसँगै राख्नुपर्ने अवस्थाले बाल अधिकार संरक्षणमा थप चुनौती सिर्जना गरेको अनुगमन टोलीले औँल्याएको छ। बालकको उमेर, आवश्यकता र अवस्थाअनुसार उचित व्यवस्थापन, स्वास्थ्य उपचार तथा पुनःस्थापनाको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा टोलीले जोड दिएको छ।

इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले सुधार गृहमा समयसमयमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न पहल गर्ने बताउनुभयो। उहाँले पुस्तकालयका लागि मानव अधिकारसम्बन्धी पुस्तक उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाउँदै बाल अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम नियमित सञ्चालन गर्ने बताउनुभयो।
अनुगमन टोलीमा नेपाल गैरसरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष कमलकुमार विश्वकर्मा, एचआरएम मकवानपुर संयोजक कुमारी वाइबा, नेपाल मानव अधिकार संगठन मकवानपुरकी अध्यक्ष शर्मिला श्रेष्ठ, सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलाल, मानव अधिकार रक्षक सञ्जालका सदस्य शारदा चौलागाईं र विनोद ढकाल तथा गोविन्द न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो।
मञ्जिता मैनाली
HUMAN RIGHTS NEWS PORTAL







