५३ औं विश्व वातावरण दिवस २०२५ वृक्षरोपण कार्यक्रम गरी मनाइयो
सप्तरी । २०८२ जेठ २६ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा डाक्नेश्वरी नगरपालिकामा गठित नगरस्तरी मानव अधिकार र बाल अधिकार समूहले जेठ २२ गते ५३ औं विश्व वातावरण दिवस २०२५ को अवसरमा विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
“हाम्रो भूमि हाम्रो भविष्य” भन्ने मूल नाराका साथ विश्व वातावरण दिवसमा मानव अधिकार समूह र बाल अधिकार समूहले वृक्षारोपण कार्याक्रम गरेको हो ।
डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहा र सोही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रमेश कुमार चौधरीको उपस्थितिमा श्री जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूह र नगरस्तरीय मानव अधिकार समूहले विद्यालय परिसरमा वृक्षारोपण गरेका हुन् ।
कार्याक्रममा नगर प्रमुख मलाहले वातावरणको संरक्षण र प्रबर्द्धन गर्न तीनै तहको सरकार र राज्यको प्रत्येक नागरिकको दायित्व भएको बताउनु भयो ।
बाल अधिकार सचेतना समूहका अध्यक्ष संतोषी साहले वातावरण संरक्षण र सरसफाई कार्यक्रम साप्ताहीक रुपमा गर्नुपर्ने बताउनु भयो ।
वडाअध्यक्ष चौधरीले हामीले हामी बस्ने वातावरणको व्यवस्थापन बारे बिचार गर्नुपर्ने र पर्यावरण संरक्षण विषयमा बहस गर्नुपर्नेमा जोड दिनु भयो ।
नगरस्तरीय मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डलले हामी मानवसँग प्रत्यक्ष सम्बन्ध भएको वातावरणलाई स्वक्ष र सफा राख्न जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख रामलखन मलाह, वडा नं. ५ का वडाध्यक्ष रमेशकुमार चौधरी, मानव अधिकार समूहका अध्यक्ष रामचन्द्र मण्डल, सदस्य सुनिता सरदार, दिनेश मण्डल, शिव चौधरी, बाल अधिकार सचेतना समूहका सदस्यहरू र इन्सेक सप्तरी सहजकर्ता अजय परियार लगायतको उपस्थिति रहेको थियो ।
इन्सेक मधेस प्रदेश
HUMAN RIGHTS NEWS PORTAL






