आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण
शिरीष न्यूज डटकम । २०८१ कात्तिक ३० गते
धनुषा – बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत ध्यानाकर्षण पत्र बुझाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान, एडभोकेसी फोरमका मधेस प्रदेश संयोजक राजकुमार महासेठ, ओरेक मधेस प्रदेश संयोजक विणा सिंह, द्वन्द्धपीडित महिला राष्ट्रिय सञ्जालकी समिता तामाङ्, मानव अधिकारका लागि एकल महिला समूह, धनुषाका अध्यक्ष सुभद्रा आले र दलित महिला संघ, धनुषाका कार्यक्रम संयोजक सिजेन्द्र सदा लगायतका संघ संस्थाका प्रतिनिधिहरूको संयुक्त टोलीले ०८१ कात्तिक २९ गते धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयामार्फत बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको सिफारिस गर्न गठित समितिलाई ध्यानाकर्षण गराएको हो ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्ती पारदर्शी हुनु पर्ने र एक हप्ताको अवधि राखेर माग गरिएको सूचनाले पर्याप्त निवेदन प्राप्त नहुने र योग्य व्यक्तिले निवेदन नदिने सम्भावना रहने भएकाले निवेदन दिने म्याद थप गर्न माग गर्दै ध्यानकर्षण-पत्र बुझाइएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ उपदफा (१) बमोजिम उच्चस्तरीय बेपत्ता पारिएका व्यक्ति छानविन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको नियुक्तिका नाम सिफारिस गर्न गठित समितिले २०८१ कात्तिक २३ गते एक सूचना प्रकाशन गरी योग्यता पुगेका व्यक्तिबाट एक हप्ता भित्र आवेदन दिन माग गरेको छ ।
एक हप्ताको समय अप्रयाप्त भएको र यसले दक्ष तथा योग्य व्यक्तिहरूले आवेदन दिन नसक्ने अवस्थाले वितग लामो समयदेखि सम्बोधन हुन नसकेको संक्रमणकालिन न्याय प्रक्रिया प्रभावकारी नहुने देखिएकोले सिफारिस समितिको ध्यानकर्षण गराएको इन्सेक मधेस प्रदेस संयोजक पासवानले बताउनु भयो ।