इन्सेकद्वारा रुपा गाउँपालिकामा टेलिभिजन संवाद सम्पन्न
सफल आवाज डटकम । २०७९ वैशाख १० गते
पाेखरा, १० वैशाख । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा रुपा गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका सवालमा टेलिभिजन संवाद वैशाख ९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा रुपा गाउँपालिकाका प्रशासकिय अधिकृत सन्तोष ढुङ्गानाले नागरिकहरु सचेत बन्दा पालिकालाई सेवा सुधार गर्नका लागि सहयोग पुग्ने बताए। उनले पालिकामा भएका सेवा र गतिविधि पारदर्शी रहने गरेको बताए। प्रविधिमैत्री शिक्षामा पालिकाले जोड दिएको बताउदै विद्यार्थी र शिक्षकलाई प्रविधिसँग जोड्न आवश्यक पुर्वाधार र सामाग्री व्यवस्था गरिएको उनको भनाइ थियो । उनले कृषिलाई व्यवसायिक बनाउन एक घर एक करेसाबारी, हरेक किसानको घरघरमा सेवा प्रवाह गरिदै आएको बताए। उत्पादन भएका तरकारीहरु खेर नजान दिनका लागि पालिकामा कोल्ड स्टोर सञ्चालन गरिएको उनको भनाइ थियो ।
रुपा अस्पतालका प्रमुख डा. ऋषिराज अधिकारीले कोभिड १९ सङ्क्रमणपछि रुपा स्वास्थ्य चौकीलाई आवश्यक उपकरणहरु प्रबन्ध गरी अस्पतालको रुपमा अगाडि बढाइएको बताए । उनले अस्पतालबाट करिब २ हजार जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको जानकारी गराए । उनका अनुसार अस्पतालले नेपाल सरकाले उपलब्ध गराएका औषधि बाहेक आवश्यकताका आधारमा अन्य औषधि पनि निःशुल्क प्रदान गर्दै आइरहेको छ । रुपा गाउँपालिका प्रशासन प्रमुख लोकनाथ पौडेलले गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई कसरी नागरिकहरुलाई सहज रुपमा प्रदान गर्न सकिन्छ भन्ने विषयमा पालिका सचेत रहेको बताए । शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले अन्तरक्रियाबाट आएका गुनासोलाई पनि सम्बोधन गर्ने गरी आगामी कार्यक्रमहरु तय गरिने भनाई राखे।
पशु सेवा शाखाका अधिकृत बिमल सुवेदीले नागरिकहरुलाई सेवा प्रवाहमा सहज महशुस गर्ने गरी घरमै पुगेर पशु सेवा प्रदान गरिदै आएको बताए। पशु नश्ल सुधार अन्तरगत वार्षिक ४ सय भन्दा बढी कृत्रीम गर्भादान गरिदै आएको जानकारी दिए । इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले नागरिकका अधिकारका सवालमा निरन्तर काम गर्दै आइरहेको बताए। उनले भौतिक विकास मात्रै नभइ मानवीय विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउन आग्रह गरे। इन्सेकद्वारा रुपा गाउँपालिकामा गठन गरिएको मानव अधिकार समुहका अध्यक्ष तिलबहादुर खड्काले नागरिकलाई आफ्ना अधिकारका बारे सुसूचित गराउन समूहले महत्वपूर्ण भूमिका खेलेको बताए। मानव अधिकार समूह सदस्य शर्मिला खनालले मानव अधिकार समूह गठनपछि नागरिकहरुले शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका सवालमा सचेत बन्न लागेको बताइन। उनले पालिकाको तर्फबाट नियमित रुपमा अनुगमन हुन आवश्यक रहेको बताइन।
समूहकै सदस्य देवि न्यौपानेले इन्सेकको कार्यक्रमका माध्यमबाट समाजमा बाहिर निस्केर अधिकारका बिषयमा बोल्न सक्ने बनेको बताइन। खाद्यान्न खरिद गर्दा उत्पादन मिति र उपभोग्य मिति हेर्ने बानीको विकास भएको उनको भनाइ थियो । पालिकाबाट प्रवाह हुने सेवाबारे नागरिकहरुले नै थाहा नपाउने अवस्था रहेको भन्दै त्यसलाई सुधार गर्दै लैजान उनले आग्रह गरे। कार्यक्रमका एक सहभागी खस बहादुर गुरुङले अशक्त र अपाङ्ग नागरिकहरुले सहज रुपमा सेवा लिन सक्ने अवस्था नरहेको बताउदै त्यसलाई सुधार गर्न ध्यानाकर्षण गराए। इन्सेक रुपा गाउँपालिका सहजकर्ता तिर्सना तिमिल्सिनाले वडा तहमा कार्यक्रम सञ्चालन गरेर त्यहाँबाट उठेका समस्यालाई समाधानका लागि गाउँपालिकामा जानकारी गराउने काम गर्दै आइरहेको बताइन।