कारागारमा पुस्तक हस्तान्तरण

गोरखापत्र अनलाइन डटकम । २०८० साउन १७ गते

सुर्खेत, साउन १६ गते । इन्सेक कर्णाली प्रदेश कार्यालयले जिल्ला कारागार सुर्खेतमा पुस्तक हस्तान्तरण गरेको छ । इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३१औँ स्मृति दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासत कक्षमा पुस्तक हस्तान्तरण गरिएको हो । 

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीसहितको टोलीले जिल्ला प्रहरी कार्यालय, सुर्खेतका एसपी योगेन्द्र सिंह थापालाई उक्त पुस्तक हस्तान्तरण गरेको हो । जिल्ला प्रहरी कार्यालय, सुर्खेतको हिरासत कक्षमा रहेका थुनुवालाई अध्ययन गर्नका लागि इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, न्याय प्रशासन, अन्तर्राष्ट्रिय सङ्गठन मानव अधिकार र मानवीय कानुन, मानव अधिकार रक्षकका लागि स्रोत पुस्तिका, महिला तथा बालिका विरुद्ध हुने हिंसाको एक अध्ययन, विश्वव्यापी आवधिक समीक्षा कार्य समूहको प्रतिवेदन लगायत अन्य ज्ञानवर्धक २७ थान पुस्तकहरू इन्सेकले हस्तान्तरण गरेको छ ।

हिरासत कक्षमा रहेका थुनुवाको मानव अधिकार, कर्तव्य र कानुन सम्बन्धी ज्ञानबाट व्यवहारमा सकारात्मक परिवर्तन होस् भन्ने उद्देश्यले उक्त पुस्तक हस्तान्तरण गरिएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पुस्तक बुझ्दै जिल्ला प्रहरी कार्यालयका एसपी थापाले हिरासत कक्षमा रहेका थुनुवाका लागि ज्ञानवर्धक पुस्तक उपलब्ध भएको बताउनुभयो । यस्ता सद्भावपूर्ण कार्यक्रमले हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ छ । 

Source: https://gorkhapatraonline.com/news/73224?fbclid=IwAR2vN-ih86tcsK5N7gm2NDcbtJqFOsINewgGUZYCfLkvfQMqHEMY06HPhFk

Source: https://www.yugnews.com/2023/08/70304?fbclid=IwAR0GqN20L4X5Cby94wS2B-RqG2ZSb0hPoZkaZarROVJHuwz_dxT72KVfSwI

Source: https://nepaliraibar.com/2023/08/66454/?fbclid=IwAR2vPBdgvxLkKXcTLjRI67JJx1DEF84T6757D4eXhVJiJUPIIq8kgO3qP8Y