कोभिड नियन्त्रण र मृत्यु दर रोक्न आ-आफ्नो भूमिका निर्वाह गर्न सरोकारवालाको जोड

नेपालगञ्ज । कोभिड नियन्त्रण र मृत्यु दर रोक्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज, इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा जेठ ६ गते आयोजित भर्चुअल बैठका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन ।

नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीले स्वास्थ्यकर्मी, अधिकारकर्मी, पत्रकार र प्रशासनले कोभिड नियन्त्रणमा भूमिका खेलेको भएपनि मृत्यु दर बढ्दै गएकोप्रति चिन्ता व्यक्ति गर्नु भयो । उहाँले धेरै जना बिरामीको मृत्यु राती ३ बजेदेखि बिहान ६ बजेको बीचमा हुनुले अस्पतालप्रति आम नागरिकमा आशङ्का उत्पन्न भएको बताउनुभयो । अध्यक्ष भण्डारीले आशङ्का र कमी कमजोरीको निरुपण गर्न आवस्यक रहेको बताउदै छलफलका लागि आग्रह गर्नु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव मुरारी खरेलले कोभिड आइसोलेशनहरूको सरसफाई र व्यवस्थापनमा ध्यान पुर्‍याउनुपर्ने बताउँदै सङ्क्रमितहरूलाई होम आइसोलेशनमा भन्दा संस्थागत आइसोलशेनमा राख्दा नियन्त्रणमा मद्दत पुग्ने बताउनु भयो । उहाँले तेस्रो भेरियण्ट देखिएसँगै आगामी दिनमा हुन सक्ने जोखिम न्यूनिकरणका लागि स्वास्थ्यर्कीको व्यवस्थापन लगायतका आवश्यक कार्यको थालनी गर्नु सुझाव दिनुभयो । सह सचिव यज्ञप्रसाद अधिकारीले यस अभियानमा खटिएका स्वास्थ्यकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै सबै मिलेर यस अभियानमा लाग्नुपर्ने बताउनु भयो ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नागरिक समाजले गर्ने भूमिका र यस अवस्थालाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउदै संविधानले प्रदत्व गरेका अधिकाहरू सबै नागरिक पाउनु पर्छ भन्ने मान्यता भएपनि यस अवस्थामा नागरिक समाजले सरकारले गरेका कामहरूको नकारात्मक टिप्पणी मात्र नगरी सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले यस अभियानमा इन्सेक नेपालका सबै जिल्लामा आवश्यक परेको समयमा समन्वय, सहकार्य र सहयोग गर्न तयार रहेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सङ्कटको बेला सबैले आफ्नो कर्तव्य र दायित्व सम्झेर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले सबै नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन तर्फ लाग्नुपर्ने बताउनु भयो । राज्यका सम्पुर्ण निकायहरू अतिरिक्त अग्रसरताका साथ महामारीका विरूद्ध लाग्नुपर्ने बताउनु भयो ।

बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले पहिलो चरणको कोभिड नियन्त्रणमा आइसकेको अवस्थामा एक्कासी दोस्रो चरणमा आउदा समस्या परेको भएपनि न्यूनिकरणका लागि पहल भइरहेको बताउनु भयो । दाङ जिल्लाका सहायक प्रजिअले अक्सिजन अभाव रहनुको साथै स्वास्थ्यकर्मी अभाव रहेको बताउनु भयो ।

यसैगरी, बाँकेका सहायक प्रजिअ दिर्घराज उपाध्यायले कोभिड नियन्त्रणका लागि निषेध आदेश जारी भएको बताउनु भयो । उहाँले स्थानीय तहले कोभिड नियन्त्रणका लागि कामहरू गरिरहेको बताउनु भयो । उहाँले जिल्लामा बाहिरका बिरामी आउने र अक्सिजन पनि सबै ठाउँमा पु¥याउनु पर्ने अभिभारा बाँकेलाई रहेको बताउनु भयो ।

बाँकेका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले मृत्यु दर कम गर्न सङ्क्रमितलाई समयमा अस्पताल पुर्‍यानु पर्ने र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सञ्चालनमा ल्याउनु पर्ने बताउनु भयो । भेरी अस्पतालका मेसु डा.प्रकास थापाले सङ्क्रमितहरूलाई ढिलो गरी अस्पताल ल्याउदा बिरामीले समयमा उपचार पाउन नसक्दा मृत्यु हुने गरेको बताउनु भयो । उहाँले नियन्त्रण नै कोभिडको उत्तम विकल्प भएको बताउदै खोप लगाएका व्यक्तिको मृत्यु दर न्यून भएको बताउनु भयो ।

महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जका कानुन सङ्कायका विद्यार्थी कुमार बिपिले नेपालगञ्ज नगरपालिका अन्तरगतका स्वास्थ्यकर्मीहरूले ०७७ साउनदेखिको कोभिड जोखिम भत्ता नपाएको, नगरपालिकाको लापरबाहीका कारण स्वास्थ्यकर्मीहरूको कोभिड बिमा आठ महिनामा म्याद सकिदा बिमा रकमबाट बञ्चित हुनु परेको लगायतका यस्ता कार्यले स्वास्थयकर्मीको कार्यक्षतामा कमी आउन सक्ने बताउनु भयो ।

नेपालगञ्ज शिक्षण अस्पतालका सञ्चालक डा.शुरेस कुमार कनोडियाले हाल नेपालमै सङ्क्रमितको उपचारका लागि आवस्यक पर्ने सी पाइप अभाव रहेका बताउनु भयो । अक्सिजनको अभाव हटाउन र भविष्यमा हुने सम्भावित जोखिम कम गर्न नेपालमै अक्सिजन पलाण्ट स्थापना गरी अक्सिजन उत्पादन गर्नुपर्ने बताउनु भयो ।

अस्पतालका उप निर्देशक डा.नितेश कनोडिया सङ्क्रमितको उपचारमा अस्पतालले कुनै कसर बाँकी नराखेको बताउदै बिरामी ढिलो गरी अस्पताल आउदा मृत्यु दर बढेको बताउनु भयो । उहाँले कोभिडका बिरामीलाई प्रोटोकल अनुसार उपचार भइरहेको बताउनु भयो ।

उपभोक्ता हित सङ्रक्षण समितिका अध्यक्ष अधिवक्ता बसन्त गौतमले होम आइसोलेशनमा बसेका कोभिड सङ्क्रमितहरू बाहिर हिड्ने गरेको, आइसोलेशन केन्द्रमा मापदण्ड नपुगेको, निस्शुल्क उपचार नभएको, बिरामीलाई समान व्यवहार नभएको कुराहरू अनुगमनको क्रममा भेट्टिएको बताउनु भयो । उहाँले उत्पादक र व्यवसायीले गरेको मूल्य वृद्धिका कारण आम नागरिक समस्यामा परेको बताउनु भयो ।

Source: कोभिड नियन्त्रण र मृत्यु दर रोक्न आ-आफ्नो भूमिका निर्वाह गर्न सरोकारवालाको जोड | samayapatra