








लोकान्तर डटकम । २०८१ माघ १७ गते
ताप्लेजुङमा अलपत्र परेका ३९ जना तीर्थयात्रुलाई सशस्त्र प्रहरी बल नेपालले उद्धार गरेको छ ।
केबलकार खारेजीको मागसहित आह्वान गरिएको मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमसहितका नाकाबाट जिल्ला भित्रिने र बाहिरिने यातायात बन्दका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरीले बिहीबार उद्धार गरेको हो ।
कास्की, काठमाडौं, भक्तपुर, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका ३९ जना तीर्थयात्रीहरू ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र परेका थिए । उक्त सूचनापछि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्म ताप्लेजुङले इन्सेकसँगको समन्वयमा उनीहरूलाई उद्धार गरी पाँचथरतर्फ पठाएको हो।
सो गुल्मबाट मेची राजमार्गस्थित स्थायी चेकपोष्टमा स्थापना भएको सम्पर्क कार्यालयमा सम्पर्क राख्न आएका तीर्थयात्रीहरूलाई गुल्म परिसरमा सहायता कक्ष स्थापना गरि स्वास्थ्य जाँच समेत गरिएको थियो ।
यसका साथै उनीहरूका लागि गुल्मले खानाको समेत व्यवस्था समेत गरेको सशस्त्रका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताए । त्यसपछि गुल्मले विभिन्न सवारी साधनको व्यवस्था गरि स्कर्टिङ गरेर पाँचथरको सदरमुकाम फिदिम बजारसम्म पुर्याएको हो ।
Source: https://shorturl.at/GuEX1
Source: https://www.ratopati.com/story/470510/39-pilgrims-stranded-in-taplejung-rescued
Source: https://shorturl.at/zGEVD