धनगढीमा बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
कैलाली खबर डटकम । २०८० चैत २५ गते
सुखड । कैलालीको धनगढीमा बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक चैत २३ गते सम्पन्न भएको हो । बैठकमा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशीले बाल अधिकार चेतना समूहका पदाधिकारीहरू तथा विद्यार्थीहरूले वार्षिक परीक्षा पछिको खाली समयमा विभिन्न प्रकारका सीपमूलक शिक्षा तथा मोबाइल प्रविधिको सदुपयोग गरेर शिक्षा तथा ज्ञान हासिल गर्न आग्रह गर्नु भएको थियो । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका कार्यक्रम संयोजक राजकुमार चौधरीले बाल अधिकार चेतना समूहका पदाधिकारीहरूले विद्यालयमा दिइने दिवा खाजा सन्तुलित भए नभएको, सेनेटरी प्याड निःशुल्क उपलब्ध भए नभएको, विद्यालयमा समयमा पाठ्यपुस्तक वितरण भए नभएको र दरबन्दी अनुसार शिक्षकहरू भए नभएको बारेमा आगामी योजना बनाउन उनको आग्रह थियो ।
बाल अधिकार चेतना समूहकी अध्यक्ष आरती सेठीले विद्यालयमा करेसाबारी र बगैँचा निर्माण, शिक्षकहरूले विद्यार्थीहरुलाई सहयोग गर्दै आइरहेकाले समयमा पाठ्यक्रम सकिएकाले परीक्षामा सहज भएको र स्वास्थ्य संस्थामा पर्चा काटेर चेकजाँच गरी औषधी दिने गरेको उनको भनाई थियो । बाल अधिकार चेतना समूहकी सदस्य सुरिस्मा चौधरीले बाल अधिकार चेतना समूहलाई शिक्षकहरूले सहयोग नगरी बेवास्ता गरेको र शिक्षकहरूले राम्रोसँग पुरा घण्टी नपढाएका कारण समयमा पाठ्यक्रम नसकिँदा विद्यार्थीहरूको शिक्षण सिकाइमा कमी भई समस्यामा पर्ने गरेको उनको भनाई थियो । बाल अधिकार चेतना समूहका सदस्य दीपेश विष्टले विद्यालयमा व्यवस्थापन समिति नहुँदा विद्यालयमा मनोमानी भएकाले शिक्षक, विद्यार्थी दुवै समस्यामा पर्ने र समयमा पाठ्यक्रम नसकिँदा विद्यार्थीहरूमा शिक्षण सिकाइमा कमी आएको गुनासो गर्नु भयो ।