धनगढीमा मानव अधिकार अनुगमन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

कैलाली खबर डटकम । २०८० चैत ३० गते

कैलालीको धनगढीमा  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार अनुगमन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकारको क्षेत्रमा विभिन्न सवालमा काम गर्ने सङ्घसंस्थाहरू परियोजना मुखी भएर काम गरिरहेको अवस्थामा नागरिकहरूका मानव अधिकार ओझेलमा पर्दै गइरहेको र एक्ला एक्लै काम गर्ने सङ्घसंस्थाहरू विभिन्न समस्या तथा चुनौती भोग्नु परेको  बताउनु भयो । उहाँले भन्नुभयो—‘नागरिकहरूको सवालप्रति राज्यलाई उत्तरदायी बनाउनका लागि सबै सङ्घसंस्थाहरू एक ठाउँमा आउन आवश्यक छ, त्यसैले मानव अधिकार रक्षकहरू आफू सुरक्षित भई मानव अधिकारका सवालहरूलाई स्थानीय तह र प्रदेश सरकारको नीति तथा कार्यक्रम बजेटमा ल्याउन वकालत गर्न सकिन्छ  ।’ राष्ट्रिय मानव  अधिकार आयोगका प्रमुख हरि ज्ञवालीले मानव अधिकार संरक्षण, समाज परिवर्तनका लागि र राज्यलाई उत्तरदायी बनाउन सङ्घसंस्थाहरू सामूहिक रूपमा सही सूचना तथा तथ्य तथ्याङ्क सहितको सवाल सामाजिकीकरण गरी साझा धारणा निर्माण गर्नु पर्ने बताउनु भयो ।  पत्रकार रमेश ऐडीले समाचारका लागि सूचना सङ्कलनको क्रममा र समाचार प्रकाशन पछि पनि पत्रकारहरूलाई राजनीतिक दबाब आउने र धम्की समेत आउने भएकाले प्रकाशन भएको समाचार पनि हटाउनु पर्ने अवस्था आएकाले अघिल्लो लाइनमा बसेर काम गर्ने पत्रकारहरू बढी असुरक्षित रहेको बताउनु भयो ।

दलित सङ्घकी अध्यक्ष सविना सुनारले दलितहरूको मुद्दा दलितको क्षेत्रमा काम गर्ने संस्थाले मात्र उठान गरेको कारण समाजबाट दलित माथिको विभेद हट्न नसकेको बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अम्बिका भण्डारीले मानव अधिकार रक्षकहरूले साझा रूपमा घटनाको अनुगमन नगरेका कारण अभिलेखीकरण गर्न नसक्दा जसको सवाल उसले मात्र उठान गर्नु पर्ने, अरू संस्थाहरूले आत्मसात् गर्न नसकेकाले यस्तो समस्या आएको बताउनु भयो । राष्ट्रिय हलिया महासङ्घका प्रतिनिधि मङ्गल सार्कीले संवैधानिक व्यवस्था अनुसार पूर्ण निःशुल्क शिक्षा नहुँदा एकल महिलाहरूका छोराछोरी, कमैया, हलिया र गरिब विपन्न दलितका छोराछोरीहरू पढी समस्यामा आउने बिचमै पढाई छोड्नु पर्ने अवस्था भएकाले पूर्ण निःशुल्क शिक्षा लागु गर्नका लागि सामूहिक रूपमा अनुगमन गर्नु पर्ने बनाउनु भयो । उक्त कार्यक्रममा राष्ट्रिय मानव  अधिकार आयोगका प्रमुख हरि ज्ञवालीले मानव अधिकारको अनुगमनका प्रकार, अनुगमनका सिद्धान्त, अनुगमनकर्ताका गुण र अनुगमन, तथ्य सङ्कलन र अनुगमनका आधारभूत सिद्धान्तहरूको बारेमा प्रस्तुति गर्नु भयो ।

Source: https://www.kailalikhabar.com/news/11116

Source: https://ekhabarraftar.com/2024/04/19851/

Source: https://pahura.com/2024/04/35399/

Source: https://dhangadhikhabar.com/news/70309

Source: https://www.state7online.com/archives/107574

Source: https://www.state7online.com/archives/107574

Source: https://agnisamachar.com/61785/