धादिङमा मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा
रेडियो बिहानी डटओआजी । २०७८ असार ३१ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि धादिङ जिल्लाबाट हालसम्म २१ वटा मानव अधिकार उलङघनका घटना रेकर्ड भएका छन् । बिहिबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक पूर्व समीक्षा तथा जिल्लामा मानव अधिकारको अवस्थाबारे छलफल कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । सन् १९९२ बाट प्रकाशन हुँदै आएको मानव अधिकार वर्ष पुस्तकमा आर्थिक, सामाजिक सांस्कृतिक, राजनैतिक क्षेत्रमा भएका मानवअधिकार उलङ्घनका घटनाहरु समावेश गरेर वार्षिक रुपमा प्रकाशन गरिदै आएको छ । अनौपचारिक सेवा केन्द्र(इन्सेक) ले प्रकाशन गर्ने पुस्तकमा ६ महिनाको अबधिमा जिल्लामा कुटपिटबाट २ जना स्वास्थ्यकर्मी, २ जना अधिकारकर्मी १ जना राजनीतिकर्मी घाईते भएका छन् । यस्तै कथित बोक्सि आरोपमा १ जना, बलात्कार र बलात्कार प्रयासका ५ वटा घटना, बाल यौन दुव्र्यवहारका ५ वटा घटना, १ सय ५० जना विद्यार्थी माथि शिक्षकहरुले दुव्र्यवहार गरेको लगायत २१ वटा घटना रेकर्ड भएको ईन्सेक प्रतिनिधि सीताराम अधकारीले जानाकारी गराउनुभयो । कार्यक्रममा जिल्ला सरकारी वकिल खेम पाठकले कोरोना विरुद्धको खोपमा पनि कतिपय ठाउँमा मानवअधिकार उलङ्घन भएको बताउनु भयो । यस्तै मानवअधिकारसँग सम्बन्धित बालबालिका र महिला माथिका यौन दुव्र्यवहारका घटना प्रकाशन गर्दा दोहोरो जाँच गरेर मात्र प्रकाशन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल बार एसोसिएसन धादिङका अध्यक्ष कृष्णराज अधिकारी, अधिवक्ता विश्वराज अधिकारी, रामकृष्ण अधिकारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सानुबाबु तिमल्सिना, अधिकारकर्मी श्याम मगराती, बेगबहादुर सुनार लगायतले मानवअधिकार वर्ष पुस्तकमा स्वास्थ्यको अधिकारबारे उल्लेख गर्न आग्रह गर्दै सबैको पहुँचमा नेपाल मानवअधिकार वर्ष पुस्तक पुग्नुपर्नेमा जोड दिनुभएको थियो ।