नागरिकको भूमिका अझै सशक्त बनाउनु पर्ने

सहीखबर । २०७७ असोज २६ गते । सोमबार २१:०६

All-focus

मकवानपुर / कोरोना भाइरसको संक्रमणकालमा नागरिक समाजको भूमिका अझै सशक्त बनाउनु पर्ने बताइएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत कोभिड १९ ले पारेको प्रभाव : नागरिक समाज तथा सन्चार जगतको भूमिका बिषयक हेटौंडामा भएको छलफल कार्यक्रम सहभागीहरुले यस्तो बताएका हुन् । इन्सेकको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले कोरोनाकालमा सरकारले गरेको कामप्रति असन्तुष्टि जनाउनु पर्ने खास कारण नै नभएको बताए । नागरिक समाजले काम गरेको तर, प्रयाप्त नभएको खुलालले बताए । कोरोना संक्रमण जाँचको लागि दैनिक पीसीआर परीक्षणको दर बढाउनु पर्ने उनले बताए । कोरोना संक्रमितलाई राम्रो व्यवहार गर्न, यसबारे चेतना फैलाउने काममा नागरिक समाज, राजनीति दल तथा टोल विकास संस्थाहरु चुकेको उनले बताए । कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश उपाध्यक्ष आरती पाठकले कोरोनाकालमा महिला हिंसा घटना ह्वात्तै बढेको बताइन् । हिंसा गरेको आरोपीलाई कोरोनाको कारण थुनुवाको रुपमा राख्न नपाउँदा घरैमा राख्नु परेको र यसले पनि हिंसा बढाएको पाठकले बताइन् । चैत यता ९७ जना महिला हिंसाका घटनाहरु रेकर्ड भएको उनले बताइन् । यसैगरी यसबिचमा ग्रामिण क्षेत्रमा बाल बिवाह पनि बढेको उनले बताइन् ।

‘सानो तिनो व्यवसाय गरेर उद्यमशीलतामा लागेका महिला संक्रमणपछि बजार व्यवस्था राम्रो नहुँदा घरै फर्कन परेको र यसले पनि समस्या निम्त्याएको छ’ पाठकले भनिन् ‘महिलाहरुलाई आत्मनिर्भर बनाउँन नसक्दा पनि हिंसा बढेको छ ।’ कार्यक्रममा गैसस महसंघ मकवानपुर उपाध्यक्ष रमिला सापकोटाले नागरिक समाजले कोरोनाकालमा व्यापक काम गरेको तर नागरिक समाज तथा गैससले गरेको काम स्थानीय तहले नदेखेको गुनासो गरिन् । कोरोना संक्रमणपछि जारी लकडाउनमा पैदल यात्रीलाई खाना, बास, यातायातलगायतको क्षेत्रमा सहयोग गर्न अहोरात्र खटेको नागरिक समाजलाई स्थानीय सरकारले मुल्याङ्कन नगरेको उनले बताइन् । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले नागरिक समाज तथा गैरसरकारी संस्थाहरुले विषम परिस्थितिमा पनि जिम्मेवार भएर काम गरेको स्मरण गरे । शिक्षा स्वास्थ्य खाद्य आवासलगायतको क्षेत्रमा इन्सेकले पनि काम गर्दै आएको र कोरोना महामारीको समयमा पनि इन्सेकले आफ्नो अभियानलाई जारी राखेको संयोजक गौतमले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर उपप्रमुख भगवती पुडासैनी,जिल्ला कानून सहायता समिति अधिवक्ता अप्सरा बस्नेत, विभिन्न गैससका प्रतिनिधिहरु, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । सोही कार्यक्रममा कोरोनाकालमा शिक्षा, स्वास्थ्य, खाद्य, आवासको क्षेत्रमा परेको प्रभावबारे पनि छलफल गरिएको थियो । शिक्षा स्वास्थ्य खाद्य र आवास अधिकार सम्बन्धी समस्या तथा सरोकारवालाको पहिचान र कार्य योजना निर्माण कार्यक्रम इन्सेकद्धारा हेटौंडा उपमहानगरपालिकामा गठित मानव अधिकार समूहको अध्यक्ष चन्द्रवति पनेरुको अध्यक्षतामा भएको थियो ।

Source: http://saheekhabar.com/2020/10/12/4672/?fbclid=IwAR0RM7Asa4mG_lh8ZQByyM50eHDgMr7CmaCbtrqT9ppAf-S4eIUxsdJk0-s