प्रलोभनमा पारेर मानव बेचबिखन

गोरखापत्र अनलाइन । २०८१ भदौ १८ गते

सुर्खेत। कर्णाली प्रदेशमा पढाउने र धेरै पैसा कमाउने बहानामा भित्रभित्रै मानव बेचबिखन हुने गरेको छ । पढाउने बहानामा साना बालबालिका तथा धेरै कमाउने बहानामा महिला तथा किशोरी मानव बेचबिखनको चपेटामा पर्ने गरेका छन् । 

महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील आवाज संस्था सुर्खेतले पढाउने र कमाउने बहानामा बालबालिका तथा महिला र किशोरी नेपालभित्रै तथा बाहिर बेचबिखनको चपेटामा पर्ने गरेको जनाएको छ । संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले गत वर्ष मात्रै आवाज संस्थाले मानव बेचबिखन तथा ओसारपसारका ३३ वटा घटना दर्ता गराएको जानकारी दिनुभयो । हुम्ला, मुगु र डोल्पा जिल्लाबाट बालबालिकालाई काठमाडौँमा राम्रोसँग पढाइदिने प्रलोभनमा पारी ल्याउने क्रममा सुर्खेतमा निगरानी हुँदा समातिने गरेका छन् । पछि उनीहरूलाई जिल्ला फिर्ता गरेर अभिभावकको जिम्मा लगाउने गरिएको छ । यस्तै किशोरी तथा महिलालाई देशभित्रै होटेल तथा देहव्यापारमा संलग्न गराउने र भारततिर समेत बेचबिखन गर्न सक्ने जोखिम बढेको छ । 

शाहीले सार्वजनिक रूपमा मानव बेचबिखनका घटना बाहिर नआए पनि भित्रभित्रै भइरहेकाले यसको निगरानीका लागि सामाजिक सङ्घ संस्था र प्रहरीले निगरानी बढाउनुपर्ने सुझाव दिनुभयो । उहाँले प्रहरीले शङ्कास्पद रूपमा एक्लै हिँडिरहेका बालिका तथा किशोरीलाई सोधपुछ गर्दा बेचिनबाट जोगिन सक्ने सुझाव दिनुभयो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवाली मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि जनेचतनामूलक क्रियाकलाप बढी गर्नुपर्ने बताउनुहुन्छ । उहाँले स्थानीय पालिकालाई पनि मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि स्थानीयस्तरमा विभिन्न रचनात्मक काम गर्न सुझाव दिनुभयो । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले आवरणमा एउटा कुरा तर भित्रभित्रै मानव बेचबिखन हुने गरे पनि बाहिर न्यून मात्रामा यससम्बन्धी घटना सार्वजनिक हुने गरेको बताउनुभयो । इन्सेकमा मानव बेचबिखन तथा ओसारपसारका तीन वटा घटना दर्ता हुन आएको जानकारी उहाँले दिनुभयो । भारतसँगै खाडी मुलुकमा पनि बेचबिखनको जोखिम रहेको भन्दै उहाँले धेरै घटना सार्वजनिक नहुँदा रोकथाममा पनि चुनौती थपिएको उल्लेख गर्नुभयो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपेश खड्काले मानव बेचबिखनका घटना भित्रभित्रै भइरहेको भनिए पनि प्रमाण नहुँदा यकिन गर्न नसकिने बताउनुभयो । उहाँले मानव बेचबिखन रोकथाम र न्यूनीकरणका लागि सचेतना कार्यक्रम महत्वपूर्ण रहेको जनाउनुभयो । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध निगरानी बढाउन तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिन स्थानीय पालिकालाई आग्रह गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन आउने किशोरी तथा महिलालाई पनि बाहिरी देश जाँदा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिने गरिएको बताउनुभयो । यसैबिच मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवसलाई बढी प्रभावकारी बनाउन सचेतनामूलक कार्यक्रम गरिने भएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले सरकारी तवरबाट मानव बेचबिखन र ओसारपसारविरुद्ध भइरहेका उपलब्धि एवं कानुनी कुरा र आवाज संस्थाले यस सम्बन्धमा भोगिरहेका चुनौती सार्वजनिक गर्नुका साथै सचेतनामूलक सडक नाटक गरिने आवाज संस्थाका वरिष्ठ मनोपरामर्शकर्ता निशा पौडेलले बताउनुभयो । 

Source: https://gorkhapatraonline.com/news/122173