मानवअधिकार अवस्थाः महिला र बालबालिका सधैं पीडित

नयाँ युगबोध डटकम । २०८१ फागुन ११ गते

घोराही । तुलसीपुर–१२ की दुई वर्षीया नाबालिकालाई ०८० फागुन ११ गते २७ वर्षीया आमाले कुटपिट गरी लमही नपा–५ चौराहस्थित एक होटेलमा छोडेर भागिन् । भारत पटना घर भएका ३५ वर्षीय सुरत गुप्तासँग भागेर जान उनले आफैले जन्माएकी नाबालिकालाई होटेलमै अलपत्र छोडिन् । त्यतिमात्रै होइन, उनले त्यसअघि छोरीलाई निर्मम कुटपिटसमेत गरिन् । आँखा, मुख, नाक, खुट्टामा निल डाम र घाउ बनाएर जन्मदिने आमाले नै छोरीलाई वेवारिसे छोड्ने दुस्साहस गरिन् । धन्न प्रहरीले उनका परिवार पत्ता लगाएर जोगायो । प्रेमीसँग जान नाबालिका छोरीलाई बेवारिसे छोड्ने मात्रै होइन हत्याका घटना पनि छन् समाजमा ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले ०८० माघ २१ गते घोराहीको एक होटेलमा भेट्न बोलाएर २२ वर्षीया पत्नी टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरे । पति भेट्न आएकी पत्नी र बुवा भेट्न आएका नाबालक अभिभावकबाटै मारिनुप¥यो । हुँदाहुँदा पतिले पत्नीलाई नै बेचविखन समेत गरे । शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय ओलीले आफ्नी १८ वर्षीया पत्नीलाई भारतमा लगेर बेचविखन तथा बलात्कार गरेको कसुरमा दाङ जिल्ला अदालतले ०८१ भदौ ३१ गते ११ वर्ष कैद गर्ने फैसला ग¥यो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अभिलेख गरेका यी त केही नमूना घटना हुन् । महिला र बालबालिकामाथिका यस्ता घटना दिनानुदिन देशभर नै बढिरहेका छन् । सन् २०२४ मा देशभर कुल १० हजार सात सय ३४ मानवअधिकारसम्बन्धी घटना अभिलेख गरेको इन्सेकले सबैभन्दा धेरै महिलामाथिका घटना सात हजार पाँच सय ८३ वटा छन् । इन्सेकले प्रकाशन गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ का अनुसार अभिलेख गरिएका कुल घटनाको आधाभन्दा धेरै घटना महिलामाथि भएका छन् । महिला र बालबालिकामाथि हुने मानवअधिकारसम्बन्धी घटना न्यूनीकरण गर्ने प्रयास भइरहे पनि त्यसले सकारात्मक नतिजा दिएको अझै पाइएको छैन । एक वर्षमा देशभरि सात हजार पाँच सय ८३ घटना महिला अधिकारसँग सम्बन्धित रहेको र त्यसमा एउटाबाहेक सबै घटना गैरराज्य पक्षबाट भएको देखिएको छ । राज्यपक्षबाट एउटा घटना भएको वर्ष पुस्तकले जनाएको छ ।

अभिलेख अनुसार सबैभन्दा धेरै पाँच हजार आठ सय ७९ वटा महिला हिंसाका घटना छन् । जुन सबै गैरराज्य पक्षबाट भएको पाइएको छ । त्यसपछि महिलामाथि बलात्कारका घटना धेरै छन् । एक वर्षमा छ सय ६४ वटा घटना बलात्कारका छन् भने बेचविखन ६० र बेचविखन प्रयास २२, महिला लक्षित साइबर क्राइमका तीन सय ६६, दाइजो सम्बन्धी हिंसा दुई सय नौ, कथित बोक्सीसम्बन्धी हिंसा २९, बलात्कारपछि हत्या सात, परिवारबाटै मारिएका एक सय, दुव्र्यवहार २३, सामुहिक बलात्कार २५, बलात्कार प्रयास एक सय ४४ र यौन दुव्र्यवहार ३२ वटा घटना भएका छन् । त्यसो त बालबालिकामाथिका घटनामा पनि कमी आएको छैन । नेपाल मानवअधिकार वर्ष पुस्तकले सन् २०२४ मा नेपालमा बालबालिकामाथि एक हजार सात सय ५८ वटा बालअधिकारसम्बन्धी घटना भएको जनाएको छ ।

राज्य पक्षबाट दुईवटा र गैरराज्य पक्षबाट एक हजार सात सय ५६ वटा घटना भएका छन् । जसमा सबैभन्दा धेरै नौ सय ३६ वटा घटना बलात्कारका छन् । यस्तै तीन सय ६८ वटा यौन दुव्र्यवहार र साइवर क्राइममा दुई सय तीनवटा घटना भएका छन् । बालविवाह ४०, बालबालिका बेचविखन ६४, शारीरिक यातना २६, बलात्कारपछि हत्या एक, भ्रुण हत्या आठ, दुव्र्यवहार ६३ र सामुहिक बलात्कार ४९ वटा घटना भएको वर्ष पुस्तकले जनाएको छ ।

लुम्बिनी दोस्रोमा

वर्ष पुस्तकअनुसार लुम्बिनी प्रदेश महिला र बालबालिकाको मानवअधिकार धेरै हनन् हुने प्रदेशमा दोस्रो स्थानमा छ । लुम्बिनीमा महिलाअधिकार सम्बन्धी एक हजार सात सय ९१ र बालअधिकार सम्बन्धी तीन सय ३३ घटना भएका छन् । बितेको एक वर्षमा लुम्बिनीमा कुल दुई हजार दुई सय ७१ घटना भएका छन् । त्यस्तै सबैभन्दा धेरै मधेश प्रदेशमा घटना भएका छन् । कुल दुई हजार तीन सय ४० घटना भएका मधेशमा एक हजार नौ सय ६३ महिला अधिकारसम्वन्धी र एक सय ८० घटना बालअधिकारसम्बन्धी घटना भएका छन् ।

यसैगरी कर्णाली प्रदेशमा कुल चार सय ८६ घटनामा तीन सय ८६ महिला र एक सय बालअधिकारसम्बन्धी घटना भएका छन् । यस्तै कोशी प्रदेशमा एक हजार सात सय ३५ घटनामा एक हजार एक सय ४० महिला र तीन सय ५२ बालअधिकारसम्बन्धी घटना भएका छन् । यसैगरी बागमतीमा दुई हजार एक सय ७७ घटनामध्ये एक हजार ७७ महिला र पाँच सय ५७ बालअधिकारका घटना छन् । गण्डकीमा पाँच सय चार घटनामध्ये महिला अधिकारका दुई सय ७९ र एक सय ३१ बालअधिकारका घटना र सुदूरपश्चिममा कुल एक हजार ९९ घटनामध्ये नौ सय ४७ महिला र एक सय पाँच बालअधिकारका घटना भएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ ले जनाएको छ ।

नागरिक अधिकार पनि उस्तै

नेपाल मानवअधिकार वर्ष पुस्तकका अनुसार नागरिक अधिकारका घटनामा पनि कमी आएको छैन । देशभर अपहरण २२, गिरफ्तारी ३७, कुटपिट दुई सय ६८, हिरासतमा मृत्यु तीन, जेलमा मृत्यु ६२ वटा घटना भएका छन् । यस्तै कुटपिटबाट घाइते भएका एक सय ६० घटना, बम पड्किदा घाइते भएका घटना सात, गोली लागेर घाइते ११, आगो लगाएर घाइते दुई, धारिलो हतियार प्रहारबाट घाइते ५२, झडपमा परी घाइते ८२ वटा घटना भए । यसैगरी कुटपिटबाट मृत्यु एक सय ६९, बम विस्फोट दुई, विष खुवाएर मृत्यु पाँच, धारिलो हतियार प्रहार गरी हत्या ७५, गोली हानी हत्या पाँच, आफै गोली हानी हत्या एक, झडमा परि मृत्यु छ, नचिनेकाबाट हत्या दुईवटा घटना भएका छन् ।

यसैगरी लाठीचार्जका घटना छ, सभा सम्मेलनको अधिकारका एक सय ६६, धम्कीका ५२, जाति विभेदका ३५ तथा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी २७ वटा घटना भएको वर्ष पुस्तकले जनाएको छ । वर्ष पुस्तकका अनुसार गैरराज्यपक्षबाट १० हजार दुई सय ७६ र राज्य पक्षबाट चार सय ५८ घटना भएका छन् । अघिल्लो वर्ष २०२३ मा इन्सेकले राज्य पक्षबाट नौ सय ९२ र अन्य पक्षबाट आठ हजार चार सय ३० गरी कुल नौ हजार चार सय २८ घटना अभिलेख गरेको थियो । अघिल्लो वर्षभन्दा यसवर्ष एक हजार तीन सय छवटा घटना बढी भएका छन् ।

Source: https://nayayougbodh.com/news/2025/02/23/812713