मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट कर्णालीमा ४ सय ९९ जना पीडित

कर्णाली मिसन डटकम । २०८० फागुन १९ गते

सुर्खेत–मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट कर्णाली प्रदेशमा ४ सय ९९ जना पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । इन्सेकले प्रकाशन गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ का अनुसार कर्णालीप्रदेशमा सन् २०२३ मा४ सय ९९ जनाव्यक्ति पीडित भएका छन् । इन्सेकले अभिलेख गरेका घटनामा एक वर्षको अवधिमा ४० जना राज्य पक्षबाट र ४ सय ५९ जना गैरराज्य पक्षबाट पीडित भएका छन् । राज्य पक्षबाट भएका घटनामा महिला अधिकारबाट एकजना, धम्कीबाट तीन, कुटपिटबाट १२, यातनाबाट एक, अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकारमा २० जनाव्यक्ति पीडित भएका छन् । त्यस्तै गैरराज्य पक्षबाट घाइते तीन जना, बालअधिकारका घटनामा ७८ जना, अमानवीय व्यवहारमा एक जना, अपहरण एक, महिला अधिकारका घटनामा २ सय ६९जना, आर्थिक, सामाजिकतथा सांस्कृतिक अधिकारका ६, सबै प्रकारका जातीय विभेदका घटनामा १० जना, धम्कीका घटनामा तीन, कुटपिटका घटनामा ५० जना र हत्याका घटनामा ३८ जना पीडित भएको इन्सेकले जनाएको छ ।

लिङ्गका आधारमा हेर्दा राज्यपक्षबाट ११ जना महिला र २९ जनापुरुष पीडित भएका छन् भने अन्य पक्षबाट ३ सय ८८ जना महिला र ७१ जना पुरुष पीडित भएका छन् । इन्सेकबाट प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ अनुसार कर्णाली प्रदेशमा परिवारजनबाट १३ जना महिलाको हत्या भएको छ । परिवारजनबाट हत्या भएका जिल्लामा सबै भन्दा बढी सल्यान जिल्लामा रहेको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ का अनुसार कर्णालीका १० जिल्ला मध्ये डोल्पामा राज्य पक्षबाट दुई र अन्य पक्षबाट आठ जना पीडित भएका छन् । मुगुमा राज्यपक्षबाट पीडित भएका छैनन भने अन्यपक्षबाट २० जना पीडित भए । हुम्लामा राज्य पक्षबाट पाँच र अन्य पक्षबाट २८ जना पीडित भएका छन् ।

जुम्लामा राज्यपक्षबाट पीडित भएका छैनन भने अन्य पक्षबाट १८ जना पीडित भएका छन् । त्यस्तै कालिकोटमा पनि राज्य पक्षबाट पीडित भएको घटना भएनन भने अन्य पक्षबाट ३२ जनाव्यक्ति पीडित भएका छन् । दैलेखमा अन्य पक्षबाट ९५ जना पीडित भए । जाजरकोटमा राज्य पक्षबाट पाँच र अन्य पक्षबाट ३६ जना पीडित भएका छन् । रुकुमपश्चिममा राज्य पक्षबाट एक र अन्यपक्षबाट २८ जना व्यक्ति मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा पीडित भएका छन् । सल्यानमा अन्य पक्षबाट ९० जना पीडित भए । यस्तै प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा राज्य पक्षबाट २७ र अन्य पक्षबाट १ सय ४ जना व्यक्ति मानवअधिकार उल्लङ्घनका घटनामा पीडित भए । इन्सेकले अभिलेखिकरण गरेको उक्त तथ्याङ्कलाई हेर्दा १० जिल्ला मध्ये सुर्खेतमा सबैभन्दा बढी मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना भएका छन् भने डोल्पामा सबै भन्दा कम घटना भएको पाइयो ।

प्रदेशको मानवअधिकार उल्लङ्घनको सूचकाङ्कलाई हेर्दा सन् २०२३ को मानवअधिकार उल्लङ्घन सूचकाङ्कमा कर्णाली तेस्रो स्थानमा रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ अनुसार नकारात्मकबाट प्रदेशको मानवअधिकार उल्लङ्घनको सूचकाङ्क हेर्दा बागमती पहिलो, मधेश दोस्रो र कोशी तेस्रो छन् । त्यसैगरी सकारात्मक नतिजाबाट सुदूरपश्चिम पहिलो, गण्डकी दोस्रो र कर्णाली तेस्रो स्थानमा रहेका छन् । शारीरिक हिंसा प्रतिबिम्बित हुने मानवअधिकार उल्लङ्घनको समग्र सूचकाङ्कमा कर्णालीको ३१.२५ अङ्क रहेको छ । त्यसैगरी बाग्मतीको ८५.२४, मधेशको ६४.३९, कोशीको ४९.८१, लुम्बिनीको ४२.१२, गण्डकीको १६.३६ र सुदूरपश्चिमको ९.५१ अङ्क रहेको छ ।

Source: https://karnalimission.com/2024/03/02/21135?fbclid=IwAR2CJxfdLYgMshqEW2OWyOrnHUTzojaybLpD_QZKAa5R_pyKoYbsdyUGsg8

Source: https://www.nepalgatha.com/samaj/33554

Source: https://khabardrishti.com/?p=11351

Source: https://khulanajar.com/2024/03/2582/