मानवअधिकार सन्धी समन्वय केन्द्र लगायतका संस्थाहरुसंगको बैठक सम्पन्न
कास्की । २०८१ जेठ ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा मानवअधिकार सन्धी समन्वय केन्द्र लगायतका संस्थाहरुसंगको बैठक जेठ २९ गते सम्पन्न भएको छ ।
बैठकमा प्रदेशमा मानवअधिकारको तीन महिनाको अवस्थाको बारेमा छलफल गरिएको थियो । जनवरी २०२४ देखि हालसम्म भएका घटनाहरु, मानवअधिकारको अवस्था तथा मानवअधिकार उल्लंघनका घटना न्यूनीकरण र पीडितलाई न्याय कसरी दिलाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।
इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले गण्डकी प्रदेशमा महिला तथा बालबालिका माथिको हिंसा दिन प्रतिदिन बढ्दै गइरहेको बताउनुभयो । साथै उहाँले इन्सेकले विभिन्न समयमा कारागार तथा बाल सुधार गृहको अनुगमन गर्दै आएको र देखापरेका समस्याहरुको समाधान गर्न पहल गरिराखेको बताउनुभयो ।
इन्सेकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको सवालमा पनि वकालत गर्नुका साथै वातावरणमा परेको असरको बारेमा पनि आवाज उठान गरेको बताउनुभयो ।
गैर सरकारी संस्था महासंघका गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्काले मानव अधिकार व्यवस्थापनको लागि सबै मानवअधिकारका संस्थाहरुले पहल गर्नुपर्ने बताउनुभयो ।
गैर सरहकारी सस्था महासंघ कास्कीका अध्यक्ष डा. बुद्धि थापाले राज्यले महिला तथा बालबालिकाका क्षेत्रमा छुट्टै सम्यन्त्र बनाएर काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले महिला, बालबालिका तथा युवाको मुद्दामा अग्रसर भएर आवाज उठाउनु पर्ने बताउनुभयो ।
मुक्ति समाजका केन्द्रिय सचिव धन बहादुर नेपालीले मानव अधिकारको सवालमा निति नियम राम्रो बनाउन नसकिएको र भएका निति नियमलाई पनि उचित तरिकाले कार्यान्वयन तथा अनुगमन गर्न नसकिएको बताउनुभयो । उहाँले भएका संरचनाहरुले आ आफ्नो तवरबाट उचित काम गर्न नसकेका कारण मानवअधिकारको अवस्था अझैपनि यस्तो रहेको बताउनुभयो ।
कोपिला नेपालकी संयोजक बिना शिलवालले मानवअधिकारको सवालमा संघ संस्थाहरुले आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले महिला तथा बालबालिकाको मानसिक स्वास्थ्यको लागि हरेका अस्पतालअरुमा मनोपरामर्शको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
नागरिक मञ्चका संयोजक विष्णु बरालले स्थानीय तहलाई जिम्मेवार बनाउन नसक्दा समस्या बढ्दै गइरहेको बताउनुभयो । उहाँले साशन व्यवस्थाले जनताको हक अधिकारको लागि काम गर्नुपर्ने तर उचित तरिकाले काम नर्गदा समस्या भइराखेको बताउनुभयो ।
इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखरा ।