मानव अधिकारमुखी पद्धति सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

अपूर्व न्यूज डटकम । २०८२ जेठ १० गते

लालगढ(धनुषा)९ जेष्ठ । डेमोक्रेसी रिसोर्स सेन्टर (डिसीआर) को आर्थिक सहयोगमा इनफर्मल सेक्टर सर्भिस सेन्टर (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा आयोजित मानव अधिकारमुखी पद्धति सम्बन्धी अवधारणा र क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हाे।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले तालिममा सहजीकरणकाे भुमिका निर्वाह गर्दै।

नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी तथा वातावरणीय मानव अधिकार रक्षकहरूको क्षमता अभिवृद्धिको उद्देश्यले सो तालिम धनुषाको मिथिला नगरपालिका–१०, लालगढमा आयोजना गरिएको हो।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेश कार्यालयका प्रमुख तथा सहसचिव बुद्धनारायण साहनीले मानव अधिकारको अवधारणा, राज्यको उत्तरदायित्व तथा मानव अधिकारमुखी पद्धतिको विषयमा सहजीकरण गर्नुभयो। उहाँले विकास निर्माणका कार्यहरू मानव अधिकार केन्द्रित हुनुपर्नेमा जोड दिँदै राज्य तथा सरोकारवालाहरू उत्तरदायी बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

मानवीय तथा भौतिक विकास विभेदरहित, सम्मानजनक, सहभागीमूलक, जवाफदेही र मर्यादित हुनुपर्ने उहाँको भनाइ थियो।

यस्तै अधिवक्ता राजकुमार महासेठले मानव अधिकारका सिद्धान्त, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र संविधानले व्यवस्था गरेका मौलिक हक र नौवटा ठूला महासन्धीबारे सहजीकरण गर्नुभयो। उहाँले मानव अधिकारको प्रत्याभूति गराउनु राज्यको प्रमुख जिम्मेवारी भएको बताउनु भएकाे हाे ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले तालिमको उद्देश्यबारे प्रकाश पार्दै मानव अधिकार हनन्का घटनाहरूको अनुगमन र अभिलेखिकरण प्रक्रियाबारे जानकारी दिनुभयो।

अनुसन्धानको क्रममा प्रयोग गर्न सकिने प्रमाण, जानकारी, लिखित वा श्रव्यदृश्य सामग्रीहरू व्यवस्थित रूपमा संकलन र संरक्षण गर्न मानव अधिकार रक्षकहरूलाई सचेत रहन आग्रह गर्नुभएकाे हाे ।
त्यस्तै इन्सेक संरक्षण परियोजनाका परियोजना अधिकृत टेकनाथ आचार्यले मानव अधिकारमुखी पद्धति विकासमा मानव अधिकार रक्षकहरूको भूमिका, अधिकार र जिम्मेवारीबारे सहजीकरण गर्नुभयो। उहाँले राज्यलाई निरन्तर खबरदारी गर्दै मानव अधिकारमुखी पद्धति व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।
साे तालिममा नागरिक समाज, वातावरणीय मानव अधिकार रक्षक, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांगता क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Source: https://apurwanews.com/2025/05/5909/