मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनता बढ्छ : तपबहादुर मगर

सनराइज खबर डटकम । २०७८ फागुन ८ गते

काठमाडौं । राष्ट्रिय मानव अधिकार अयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार आयोगले गरेका सिफारिस कार्यान्वयन नभएका भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष मगरले मानव अधिकार आयोगले गरेको सिफारिस कार्यान्वयन नहुँदा दण्डहीनता बढ्ने बताउनुभयो । ‘सरकालाई सिफारिस गरेको कुरा कार्यान्वयन गर्नको लागि हामी लागि परेका छौँ’, उहाँले भन्नुभयो । मगरले सिफारिस कार्यान्वयन गराउने कुरामा सरकारलाई दबाब दिन मानव अधिकार संस्था र नागरिक समाजलाई पनि आग्रह गर्नुभयो । त्यसो गर्ने हो भने राज्यलाई सिफारिस कार्यान्वयन गर्न दबाब हुने उहाँको भनाइ छ । कार्यक्रमका बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले प्रजातन्त्र नभएको समाजमा मानव अधिकार उपभोग गर्न नसकिने बताउनुभयो । ‘प्रजातन्त्रिक व्यवस्था पनि मानव अधिकार प्रति प्रतिबद्ध भएन वा उसैले गरेको प्रतिबद्धता लागु गर्न सकेन भने पनि त्यो प्रजातन्त्र अर्थहीन हुन्छ’, प्याकुरेलले भन्नुभयो ।

इन्सेकका पूर्वअध्यक्ष सुबोध प्याकुरेलले देश लोकतान्त्रिक भए पनि सामन्तवादी सोच अझै कायम नै रहेको बताउनुभयो । अहिले पनि राजनीति व्यक्ति केन्द्रित भएको उहाँको भनाइ छ । नागरिक संवाद र पारदर्शिताले नै लोकतन्त्रलाई बलियो बनाउने उहाँले बताउनुभयो । इन्सेकका कार्यकारी निर्देशक विजय गौतमले २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएको कार्यक्रमका जानकारी दिनुभयो । सन् २०२० मा यस्ता घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएका अभिलेख इन्सेकले राखेको थियो । सन् २०२१ मा मानव अधिकार उल्लङ्घनका घटनामा ५२ महिला र ५ सय १० पुरुष गरी जम्मा ५ सय ६२ जना पीडित भएको इन्सेकले जनाएको छ । ज्यादतीका घटनामा ५ हजार १ सय ६३ जना महिला र ५ सय ६० जना पुरुष गरी जम्मा ५ हजार ७ सय २३ जना पीडित भएका छन् ।

यो वर्ष यातनाका घटनामा तीन जना, गिरफ्तारीका घटनामा ३५ जना, जातीय विभेदका घटनामा २८ जना, अमानवीय व्यवहारका घटनामा २४ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ३ सय ६३ जना र धम्कीका घटनामा ३६ जना र कुटपिटका घटनामा २ सय ६६ जना पीडित भएको अभिलेख रहेको इन्सेकले जनाएको छ । सो अवधिमा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ४ सय १६ जना पीडित भएको अभिलेख छ । बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ५ सय २२ जना बालबालिका पीडित भएको इन्सेकले जनाएको छ ।

Source: https://sunrisekhabar.com/news-details/45129/2022-02-19