रुपामा स्थानीय बालमैत्री शासन सम्बन्धी छलफल

अनलाइन अन्नपूर्ण डटकम । २०८० जेठ २ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले रुपा गाउँपालिकामा बालमैत्री स्थानीय शासनका बारेमा छलफल सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले बालमैत्री पालिका निर्माणका लागि नीतिगत रुपमा बालबालिकाका लागि व्यवस्था गरिएको बताए । सुत्केरी र महिलालाई पोषणको व्यवस्था, अपांगता भएका बालबालिकालाई अध्ययन गर्न पाउने व्यवस्था तथा सबै लक्षित बर्गका अधिकारका लागि गाउँपालिका सचेत रहेको उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगानाले बालबालिकाको क्षमता अभिवृद्धिका लागि काम गरिरहेको बताए । उनले पूर्णखोप कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे । पोषणका लागि कार्यक्रम चलिरहेको र त्यसलाई दिगो बनाउने पालिकाको लक्ष्य रहेको उनको भनाइ छ । उपाध्यक्ष लालशोभा गुरुङले भौतिक विकाशले मात्र प्राथमिकता पाइरहेको भन्दै बालमैत्री कार्यक्रम सञ्चालनमा कमीकमजोरी भएकाले बालमैत्री पालिका निर्माणका लागि प्रतिवद्धता व्यक्त गरिन् । बाल अधिकार सुनिश्चित भएमात्र दिगो विकास लक्ष्यमा पुग्न सकिने उनले बताइन् । इन्सेकका गण्डकी प्रदेश संयोजक शिव खकुरेलले संस्थाले मानव अधिकार मैत्री कानुन निर्माण तथा सुशासनका लागि पहल गर्दै आइरहेको बताए ।

Source: https://onlineannapurna.com/2023/2535/