लुम्बिनी प्रदेशका द्वन्द्वपीडितको समस्या सरकारले समाधान गर्छ
हिमालय न्यूज हब डटकम । २०८१ मङ्सिर २५ गते
बाँके । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका द्वन्द्वपीडितको सबै खाले समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जको मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको आज उदघाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले प्रदेश भरीका द्वन्द्वपीडितहरुको सबै प्रकारको समस्या सरकारले समाधान गर्ने बताउनुभएको हो ।
तत्कालीन समयमा राज्य र विद्रोही दुबै पक्षबाट सबैभन्दा बढी प्रभावित क्षेत्र लुम्बिनी प्रदेश भएको बताउँदै मुख्यमन्त्री आचार्यले यस क्षेत्रका सबै द्वन्द्वपीडित जनताको अभिभावक भनेको प्रदेश सरकार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रको द्वन्द्वपीडित जनताका सबै प्रकारको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन ।”
मुख्यमन्त्री आचार्यले संघीय सरकारले टिआरसी विधेयक बनाइसकेको बताउँदै प्रदेश सरकारबाट गर्नुपर्ने समन्वय र सहकार्यमा कतैबाट कमी हुन नदिने बताउनुभयो । “संघीय सरकारले द्वन्द्वपीडित जनताका समस्या सम्बोधन गर्न र समाधानका लागि टिआरसी विधेयक निर्माण गरिसकेको छ, अब आयोग बनाउने काम गर्दैछ ।” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “मानव अधिकार रक्षाका लागि पञ्चायतकाल, द्वन्द्वकाल तथा २०६२–६३ को आन्दोलनमा इन्सेकले उल्लेख्य भूमिका निर्वाह गरेको छ, विशेषगरी द्वन्द्वकालीन समयमा भुल्नै नसकिने खालको अग्रणी भूमिका निर्वाह गरेको छ ।”कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकको मानव अधिकार सूचना तथा स्रोत केन्द्र महत्वपूर्ण रहेको बताउनुभयो । “यो स्रोत केन्द्र बहुउद्देश्यीय कामका लागि प्रयोग हुनेछ, यसलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने योजना बनाएका छौँ ।” गौतमले भन्नुभयो, “मानव अधिकारकर्मी र अन्य संघ संस्थाबिच समन्वय र सहकार्यका लागि यो केन्द्र एउटा राम्रो र उत्कृष्ट प्लेटफर्म बन्नेछ ।”
कार्यकारी निर्देशक गौतमका अुनसार केन्द्रलाई मानव अधिकारका मुद्दाहरु अनुसन्धान गर्न, मानव अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्न, प्रशिक्षण, बैठक तथा प्रयोगशालाका रुपमा समेत प्रयोग गर्न सकिने छ । पीडितलाई परामर्श दिने केन्द्रका रुपमा पनि यसलाई विकास गरिने, मानव अधिकारको हेल्प डेस्क रुपमा प्रयोग गरिने तथा परामर्श सेवा, कानुनी सेवालगायतका पीडितलाई आवश्यक सबै सेवा प्रदान गरिने साझा थलोको रुपमा केन्द्रलाई विकास गरिने गौतमले बताउनुभयो ।
इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेलले १० डिसेम्बर मानव मर्यादाका लागि वैधानिक नैतिक दस्तावेजको दिन भएको बताउनुभयो । ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को महत्वपूर्ण अवसर पारेर मानव अधिकार रक्षाका लागि मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरिएको बताउनुभयो । उहाँले यो केन्द्र द्वन्द्वपीडित नागरिक र मानव अधिकारकर्मीका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
यस केन्द्रबाट मानव अधिकारका क्षेत्रमा गरिने हरेक कार्यको समन्वय गरिने, अभिलेखीकरण गरिने भएको हुँदा केन्द्र सबै मानव अधिकारकर्मीको साझा सम्पत्ति भएको उहाँले बताउनुभयो । केन्द्रमार्फत् सही सूचना प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ । ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस .१० डिसेम्बर) को अवसर पारेर अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जले जानकी गाउँपालिका वडा ३ मा निर्माण गरेको मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको मङ्गलबार बिहान उद्घाटन भएको छ ।
Source: https://www.himalayanewshub.com/details/25560
Source: https://radionepalonline.com/2024/12/10/555921.html