वाग्मतीको मानव अधिकार समीक्षा : हिंसाका घटना बढे, बालिका माथिको बलात्कारका अधिक
सनराइज खबर डटकम । २०७९ पुस १६ गते
काठमाडौं । वाग्मती प्रदेशमा महिला हिंसाका घटना बढेका भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चिन्ता व्यक्त गरेको छ । बिहीबार चितवनमा आयोजित वाग्मती प्रदेशको मानव अधिकार अवस्थाको विषयमा सो प्रदेश अन्तर्गतका जिल्ला प्रतिनिधि विचको अन्तरक्रिय कार्यक्रमा बोल्दै जिल्ला प्रतिधिहरुले सबै जिल्लामा महिला हिंसा भित्र पनि बलात्कार र यौन दुर्व्यवहारका घटना भएका जानकारी दिनुभयो । काठमाठमाडौँ जिल्ला प्रतिनिधि विमल पौडेलले यस वर्ष २ सय ९५ घटना सङ्कलन गरेको बताउनुभयो । त्यस मध्ये ४६ जनाको जेल र हिरासतमा ज्यान गएको उहाँले जानकारी दिनुभयो । भक्तपुरका जिल्ल प्रतिनिधि रमेश गिरीले ६५ वटा घटना सङ्कलन भएकोमा ५१ वटा बलात्कारकै घटना भएका बताउनुभयो । यस वर्ष महिला हिंसाका घटना अधिक देखिएको उहाँले बताउनुभयो । काभ्रेका जिल्ला प्रतिनिधि हिरामान तामाङले समग्र जिल्लाका मानव अधिकार अवस्था बारे जानकारी दिँदै समग्रमा महिला हिंसाकै घटना बढी भएका बताउनुभयो । चितवन जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीले जिल्लामा यस वर्ष कूल १ सय ६१ घटना सङ्कलन गरिएको जानकारी दिनुभयो । जसमा यौनजन्य हिंसाकै घटना बढी रहेका उहाँले बताउनुभयो । छात्राहरू माथि यौन दुर्व्यवहार भएका घटना पनि बाक्लै आएको उहाँले जानकारी दिनुभयो । यस्ता कतिपय घटना अहिले पनि अनुसन्धानकै प्रक्रियामा रहेका उहाँले बताउनुभयो ।
रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले यस वर्ष १४ वटा घटना सङ्कलन गरिएको बताउनुभयो । मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन विगतका निर्वाचनको भन्दा शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले बताउनुभयो । तथापि आचारसंहिताको पालनामा भने राजनीतिक दल र उम्मेदवारले अझै ध्यान नदिएका उहाँले बताउनुभयो । सो जिल्लामा पनि महिला हिंसाकै घटना बढी रहेका उहाँले बताउनुभयो । मकवानपुर जिल्ला प्रतिनिधि पुष्पराज अधिकारी यस वर्ष ६७ वटा घटना सङ्कलन गरिएको जानकारी दिनुभयो । मकवानपुरमा पनि बलात्कारकै घटना बढी रहेका उहाँले बताउनुभयो । जसमा बालबालिका समेत पीडित रहेका उहाँले तथ्याङ्क प्रस्तुत गर्नुभयो । ललितपुरका जिल्ला प्रतिनिधि दीपक घिमिरेले सबैभन्दा धेरै बलात्कारका ४६ वटा घटना सार्वजनिक भएको जानकारी दिनुभयो । यसै गरी बहुविवाह, मानव बेचबिखन, हत्याको प्रयास, बाल यौन दुर्व्यवहार लगायतका घटनाहरू जिल्लामा भएका उहाँले बताउनुभयो ।
दोलखाका जिल्ला प्रतिनिधि उद्धव पोखरेलले जिल्लामा २७ वटा घटना सङ्कलन गरिएको जानकारी दिनुभयो । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान केन्द्र कब्जा भएको कारण ४ वटा मतदान स्थानका १० मतदान केन्द्रमा मङ्सिर १० गते पुन मतदान भएको उहाँले बताउनुभयो । सिन्धुपाल्चोका जिल्ला प्रतिनिधि नातिबाबु धितालले ४० वटा घटनाहरू अभिलेखीकरण गरिएको जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा प्रहरीले हिरासतमा यातना दिएको लगायतका घटना यस वर्ष सार्वजनिक भएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा नपाएको तथा सम्बन्ध विच्छेद पछि समस्या परेका आश्रित बालबालिकाको अधिकारको विषय पनि समावेश गर्नु पर्ने सुझाव आएको उहाँले बताउनुभयो । धादिङका जिल्ला प्रतिनिधि सिताराम अधिकारीले ४१ वटा घटना सङ्कलन भएकोमा बलात्कारका घटना धेर भएको बताउनुभयो । यस बाहेक बोक्सीको आरोपका घटना समेत रहेका उहाँले जानकारी दिनुभयो ।
रामेछापका जिल्ला प्रतिनिधि नवराज पथिकले यस वर्ष ४० वटा घटना सङ्कलन भएकोमा २२ वटा बलात्कार र बलात्कार प्रयासका घटना भएका बताउनुभयो । बोक्सीको आरोपमा हत्या तथा दलित बालिकालाई बाँधेर यातना दिने जस्ता जघन्य घटना समेत यस वर्ष भएका उहाँले बताउनुभयो । सिन्धुली जिल्ला प्रतिनिधि नविनबाबु अधिकारीले पनि जिल्लामा बलात्कार र घरेलु हिंसाकै घटना बढी भएका बताउनुभयो । उहाँले यस वर्ष ७७ वटा घटना सङ्कलन भएकामा अधिकांश महिला हिंसाकै घटना भएका बताउनुभयो । नुवाकोटका जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले जिल्लामा यस वर्ष सबैभन्दा बढी बलात्कारका १५ वटा, बलात्कार प्रयासका ६ वटा हत्याका सात वटा, बहुविवाहका चारवटा लगायतका घटना सङ्कलन भएका जानकारी दिनुभयो । इन्सेकका वाग्मती प्रदेश संयोजक गणेश भण्डारीले समग्र वाग्मती प्रदेशको अवस्था हेर्दा महिला अधिकार उल्लंघनका घटना धेरै देखिएका बताउनुभयो । महिला अधिकार भित्र पनि धेरै बलात्कार र बलात्का प्रयासका घटना भएका उहाँले जानकारी दिनुभयो । बलात्कार र दुर्व्यवहारका घटनामा बालिकाहरू बलात्कृत भएका घटना बढी भएका उहाँले बताउनुभयो । त्यस्ता घटनामा ८० प्रतिशत बढी बालिका पीडित भएका उहाँले जानकारी दिनुभयो । समग्र मानव अधिकार उल्लंघनको घटनालाई हेर्दा महिला अधिकार उल्लंघनका घटना ६६ प्रतिशत रहेका उहाँले बताउनुभयो ।