सुनबर्षीमा बाल विवाहसम्बन्धी अभिमुखिकरण

सुनाखरी अनलाइन डटकम । २०८१ मङ्सिर १९ गते

इटहरा: मोरङको सुनबर्षी नगरपालिकामा बाल विवाहसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इन्सेक प्रदेश कार्यालय बिराटनगरद्वारा गठित मानव अधिकार समूह सुनबर्षीले आयोजना गरेको अभिमुखिकरण आज नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । 

कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका छात्राहरू, इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह बिरेन्द्र मावि अमरदह, आदर्श मावि डायिनिया लगायतका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । बालिकाहरूमा बाल विवाहका कानूनी, सामाजिक र व्यक्तिगत असरबारे जानकारी दिनु तथा उनीहरूको हकअधिकारप्रति सचेत गराउनु कार्यक्रमको उद्देश्य रहेको मानवअधिकार समुह सुनबर्षीका अध्यक्ष लक्ष्मण बुढाथोकीले बताउनुभयो ।   

कार्यक्रममा सुनबर्षी नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अरूणा कार्कीले बाल विवाह तथा बालबालिकासम्बन्धी मुद्दाहरूमा नगरपालिकाको भूमिका र चासोबारे आफ्ना विचार राख्नुभयो । उहाँले भन्नुभयो, “महिला र बालबालिकाका सवालमा नगरपालिकाले सदैव संवेदनशीलता देखाउँदै आएको छ । यस्ता अभिमुखिकरण कार्यक्रमले बालबालिकामा अधिकार र जिम्मेवारीप्रति सचेतना वृद्धि गर्ने भएकाले स्थानीय सरकारले यसलाई निरन्तरता दिनुपर्नेछ।” इन्सेकजस्ता संस्थासँग समन्वय गरेर काम गर्दा प्रभावकारी परिणाम आउने कुरामा जोड दिँदै उहाँले नगरपालिकाको बालबालिका शाखा यस्ता कार्यक्रमलाई थप सशक्त बनाउन प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले विद्यालयमा शिक्षामा पहुँच, महिला स्वास्थ्यसम्बन्धी जानकारीको अभाव र सामाजिक कुरीतिहरूको असरबारे आफ्नो अनुभव र धारणा खुलस्त रूपमा राखेका थिए । उनीहरूले विद्यालयस्तरमै महिला सशक्तीकरण र बाल विवाहजस्ता कुरीतिहरूविरुद्ध जागरूकता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने माग गरे ।

सहभागी विद्यार्थीहरूको विचार सुनेपछि महिला तथा बालबालिका शाखा प्रमुख कार्कीले विद्यार्थीहरूले उठाएका समस्या समाधानका लागि नगरपालिकाले योजनाबद्ध कार्य अघि बढाउने प्रतिवद्धता जनाउनुभयो । यस्ता कार्यक्रमले बालबालिकाको हकअधिकार सुरक्षित गर्न र बाल विवाहजस्तो सामाजिक कुरीति अन्त्य गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

Source: https://sunakharionline.com/news/2954