हाँडीखोलाको महेन्द्र ज्योति मावि सुधार्न गाउँपालिका अध्यक्ष कालाखेतीको निर्देशन
मनहरि लाइभ डटकम । २०७९ भदौ ११ गते
मनहरी गाउँपालिका ८ सिमपानीस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयमा अभिभावकको आन्दोलन भएर प्रधानाध्यापक हटाइएको घटना चर्चामा आइरहँदा मनहरी ३ स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयबारे पनि प्रश्न उठेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डब्लुपीडी नेपालले गत बुधवार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रममा सोही विद्यालयका विद्यार्थीहरुले विद्यालयको दुराबस्थाबारे प्रश्न उठाएका हुन् ।
कक्षा १० मा अध्ययन गर्ने बालिकाले प्रधानाध्यापक गोकुल प्रसाद शर्माकै अगाडि गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीमगर र वडाध्यक्ष अनन्तप्रकाश अर्यालसामु प्रश्न उठाउनु भएको हो । ती बालिकाले भन्नुभयो–‘स्कूलमा कम्प्युटर ल्याब छ, तर कहिल्यै कम्प्युटर चलाउन पाइएन ।’ त्यसैगरी कक्षाकोठामा पंखा नहुँदा गर्मी महिनामा पसिनाले निथ्रुक्कै भिजेर पढ्नुपरेको गुनासो ती बालिकाले गर्नुभयो ।
बालबालिकाहरुले झै स्थानीय अभिभावकहरुले विद्यालयको रिजल्ट, शिक्षक र विद्यार्थीहरुको बरब्यवहारबारे पनि प्रश्न गरेका थिए । एसइइ परिक्षामा कमजोर नजिता आएको प्रसंग कोट्याउँदै अभिभावकहरुले विद्यार्थीहरु विद्यालय समयमा पनि बाहिरै हुने गरेको, शिक्षकहरु समयमै विद्यालयमा नआउने गरेको, आए पनि प्रधानाध्यापकलाई नटेर्ने गरेकोजस्ता गुनासाहरु अभिभावकले ब्यक्त गरे ।
जबाफमा प्रधानाध्यापक शर्माले विद्यालय सुधार अभियान सुरु भइसकेको बताउँदै कम्प्युटर ल्याबस सञ्चालन गर्न नसकिएको बताउनुभयो । ‘६ वटा कम्प्युटरका र्याम नै चोरी भएको पाइयो’, प्रधानाध्यापक शर्माले भन्नुभयो–‘कम्पाउण्ड नहुँदा विद्यालयको सम्पत्ति सुरक्षामा समस्या परिरहेको छ ।’ उहाँले कम्प्युटर ल्याब, पुस्तकालय पनि राम्ररी सञ्चालन हुन नसकेको बताउनुभयो । भएका पंखाहरु पनि भाँचिदिएकाले पंखाले काम गर्न नसकेको उहाँको भनाई थियो ।
विद्यार्थी र अभिभावकहरुको कुरा सुनिसकेपछि गाउँपालिका अध्यक्षले विद्यालयबारे आएको टिप्पणीहरु सुधार गर्न प्रधानाध्यापक शर्मालाई निर्देशन दिनुभयो । उहाँले देखिने गरी विद्यालय सुधार गर्नेगरी काम गर्न प्रधानाध्यापक शर्मालाई ध्यानाकर्षण गराउँदै अन्यथा बिकल्प खोज्नेसम्मको भनाई राख्नुभयो ।
आफै बसेको मनहरी ८ स्थित महेन्द्र किरण माध्यमिक विद्यालयको उदाहरण सुनाउँदै गाउँपालिका अध्यक्ष कालाखेतीले भन्नुभयो–‘पालिकाले यथेष्ट सहयोग गरिरहेको छ, अझै थप काम गर्नेछौँ, तर पनि स्कूल सुध्रेन भने हामी एक्सनमा जान्छौँ ।’ गलत र अनुशासनहीन काम भएमा शिक्षक युनियन वा जुनसुकै पार्टीको दबाब भएपनि कारबाही गरिछाड्ने उहाँको भनाई थियो ।
सार्बजनिक सुनुवाई कार्यक्रममा उपाध्यक्ष पुलामीले महिला तथा बालबालिकाको क्षेत्रमा भइरहेका काम कारबाहीका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा हाँडीखोला स्वास्थ्य चौकीमा औषधी किन्नुपरेको र भिडियो मेसिन मुसाले क्षति पुर्याएकोसम्म प्रसंग चलेको थियो । त्यसैगरी सहकारीले सेयर सदस्य नभएका किसानलाई रासायिनिक मल नदिएकोबारे पनि अध्यक्ष कालाखेतीको ध्यानाकर्षण गराउनु भएको थियो ।
कार्यक्रममा वडाध्यक्ष अनन्त प्रकाश अर्यालले विद्यालय सुधारको दिशामा गएको र अहिले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सक्रिय भएर सुधारका काममा लागिपरेको बताउनुभयो । छिट्टै कम्पाउण्ड लगायतका कामहरु पनि गर्ने तयारीका साथ शिक्षक र विद्यार्थीहरुको बर ब्यवहार सुधारका काम भइरहेको उहाँले बताउनुभयो ।
त्यसैगरी अभिभावकहरुले आफ्नो विद्यालय र विद्यार्थीहरुका बारेमा पनि चासो राख्नुपर्नेमा वडाध्यक्षको जोड थियो । कार्यक्रममा स्वास्थ्य संयोजक रामचन्द्र दाहाल, शिक्षा संयोजक हरिचन्द्र सापकोटा, सामाजिक विकास संयोजक शैलेस बास्कोटा, हाँडीखोला स्वास्थ्य चौकीका नाथुराम चौधरी लगायतले आप्m्नो क्षेत्रका सेवा प्रबाह अबस्थाबारे जानकारी गराउनु भएको थियो ।