हिंसाका घटनामा परी १६ दिनमा २८ जना महिला तथा बालिका पीडित
दैनिक नेपाल । २०७८ मङ्सिर २६ गते
काठमाडौं, २६ मंसिर । ‘घरैबाट शुरू गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ यो वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवधिमा २८ जना महिला तथा बालिका पीडित भएका इन्सेकले जनाएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन गर्ने गरिएको यो अवधिमा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
‘१६ दिनको अवधिमा इन्सेक अनलाइनमा सुदूरपश्चिमबाहेकका ६ ओटा प्रदेशमा २८ जना महिला तथा बालिका पीडित भएका समाचार प्रकाशन भए,’ इन्सेकले मङ्सिर २६ गते जारी गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार बागमती प्रदेशमा सात, कर्णाली प्रदेशमा ६, लुम्बिनी र प्रदेश २ मा पाँच÷पाँच, प्रदेश १ मा तीन र गण्डकी प्रदेशमा दुई जना पीडित भएका छन् ।
यो अवधिमा पत्नी हत्याका दुई र आमाको हत्याको एउटा समाचार प्रकाशन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ । १६ दिनको अवधिमा १८ जना बालिका र १० जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा कानुन कार्यान्वयनका सवालमा पीडितकेन्द्रीत र महिलामैत्री वातावरणको निर्माण गर्नुपर्ने लगायतका १३बुँदे सुझाव पनि समेटिएको छ ।
Source: हिंसाका घटनामा परी १६ दिनमा २८ जना महिला तथा बालिका पीडित – Dainik Nepal