किसानहरुको समस्या समाधान गर्न कृषि मन्त्रीलाई ज्ञापन पत्र

शुक्रबार । २०७८ जेठ १४ गते

नेपालगञ्ज । किसानहरुलाई समयमै मल तथा बिउ बिजन उपलब्ध गराउनुपर्ने लगायतका ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ । खेतीपातीको सिजन शुरु हुन थालेसंगै किसानहरुलाई आवश्यक बस्तुहरु समयमै उपलब्ध गराइए यहाँका किसानहरुको उत्पादन बढ्ने भन्दै समयमै मल तथा बिउ बिजनको व्यवस्थापनसंगै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी र इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जका प्रमुख भोला महतले शुक्रबार लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री बिजय बहादुर यादवलाई ज्ञापन पत्र बुझाउँदै समयमै कृषि बस्तुको व्यवस्थापन गरिदिन ध्यानाकर्षण गराउनुभएको हो ।

प्रत्येक वर्ष मल तथा बिउ बिजनको अभाव झेल्दै आएका यहाँका किसानहरुले यस वर्षपनि उक्त समस्या झेल्न नपरोस भन्नका लागि समयमै मल तथा बिउ बिजनको व्यवस्थापन हुुनुपर्ने, भारतबाट आयतित कृषि उत्पादनलाई नियन्त्रण गर्दै नेपाल उत्पादनलाई बजार व्यवस्थापन गरिनुपर्ने, उत्पादित बिउ बिजन र मल भण्डारणका लागि उपयुक्त कोल्डस्टोरको व्यवस्थापन गर्नुपर्ने, सम्पूर्ण कृषकहरुको हित र पहुँच पुगने गरी कृषि अनुदानलाई व्यवस्थापन गर्नुपर्ने, कृषि एम्बुलेन्सलाई प्रभावकारी बनाउनुपर्ने, बिभिन्न रोग र दैवीप्रकोपका कारण कृषिमा हुने क्षतिको क्षपितपुर्तिका लागि किसानहरुलाई बिमाको परिधिभित्र ल्याई उत्पादनलाई सुरक्षित गर्नुपर्ने र हाल कोभिडको अवस्थामा कषि उत्पादनलाई सहज रुपमा ढुवानी गर्न स्पलार्यस तथा किसानलाई पासको व्यवस्था गरिनुपर्ने कुराहरु ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

Source: किसानहरुको समस्या समाधान गर्न कृषि मन्त्रीलाई ज्ञापन पत्र | samayapatra