गल्छीका अपाङ्गता भएका बाढी प्रभावितलाई राहत, पालिकामा कपडा र मिनरल वाटर हस्तान्तरण
धादिङ न्यूज डटकम । २०८३ भदौ २२ गते
धादिङ।भोटेकोसी बाढीले घरबार र दैनिक जीवन प्रभावित बनाएपछि गल्छी गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिका परिवारलाई लक्षित गरी राहत सामग्री उपलब्ध गराइएको छ।
झापाली मिलन केन्द्र भक्तपुरले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा गल्छी गाउँपालिकाका ६ परिवारका ७ जना अपाङ्गता भएका व्यक्तिका लागि राहत सामग्री जुटाएको हो। प्राप्त सामग्री गाउँपालिकामार्फत प्रभावित परिवारलाई वितरण गरिँएको छ।
अपाङ्गता भएका मनिषा थापा, समिन श्रेष्ठ, विमल तामाङ, गोपाल अधिकारी, सुशीला काराखेती र राजकुमार अधिकारीका परिवारलाई लत्ताकपडा, स्वास्थ्य सामग्री, ग्यास चुलो, डसना, खाद्यान्न तथा सरसफाइका सामग्री उपलब्ध गराइएको छ।
राहत सामग्री व्यक्तिगत रूपमा वितरण नगरी एकद्वार प्रणालीअन्तर्गत गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो । आवश्यकताका आधारमा पालिकाले क्षति पुगेका घरपरिवारलाई सामग्री वितरण गरिरहेको गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले जानकारी दिनुभयो।
झापाली मिलन केन्द्र भक्तपुरका अध्यक्ष अग्नि ढकालका अनुसार गाउँपालिकालाई महिला तथा पुरुषका लागि ६ बोरा तथा झोलामा कपडा, ६८ केस मिनरल वाटर, ८ थान डसना र खाद्यान्नसमेत हस्तान्तरण गरिएको छ।
भोटेकोसी बाढीबाट गल्छी गाउँपालिकामा २६० घरमा क्षति पुगेको थियो, जसमध्ये ११४ घर पूर्ण रूपमा क्षतिग्रस्त छन्। बाढीपछि राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक पीडितले सामग्री पाऊन् भन्ने उद्देश्यले एकद्वार प्रणाली अपनाइएको गाउँपालिकाले जनाएको छ।
Source: https://shorturl.at/IuqhZ
HUMAN RIGHTS NEWS PORTAL






