नुवाकोटमा इन्सेकको सूचना तथा समन्वय कार्यालय
अनलाइन नुवाकोट डटकम । २०८३ भदौ २० गते
नुवाकोट । भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको अभिलेख संकलन तथा राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारलाई सहयोग पुर्याउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिका–२ मा सूचना तथा समन्वय सम्पर्क कार्यालय स्थापना गरिएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले २०८३ भदौ २० गते कार्यालय स्थापना गरेको हो। कार्यालयले बाढीका कारण सम्पर्कविहीन, मृत्यु तथा घाइते भएका व्यक्तिका साथै प्रभावित परिवारको विवरण संकलन गर्ने जनाएको छ।
इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलका अनुसार बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्नुका साथै बाढीका कारण सिर्जित मानव अधिकार संकटको समाधान र सहजीकरणमा सहयोग पुर्याउने उद्देश्यले कार्यालय स्थापना गरिएको हो।
इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले नुवाकोटको मानव अधिकार अवस्थाको अनुगमन गरी सरकारलाई आवश्यक सहयोग पुर्याउने तथा बाढी प्रभावित नागरिकको मानव अधिकार संरक्षणका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो।
HUMAN RIGHTS NEWS PORTAL







