बाढी प्रभावितको विवरण संकलन गर्न नुवाकोटमा इन्सेकको सम्पर्क कार्यालय

समाचार विचार डटकम । २०८३ भदौ २१ गते

हेटौंडा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको विवरण संकलन तथा राहत, उद्धार र पुनःस्थापनाका कार्यमा सरकारलाई सहयोग गर्ने उद्देश्यले नुवाकोटमा सूचना तथा समन्वय सम्पर्क कार्यालय स्थापना गरिएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले विदुर नगरपालिका–२ मा भदौ २० गते उक्त कार्यालय सञ्चालनमा ल्याएको हो।

सम्पर्क कार्यालयमार्फत बाढीका कारण सम्पर्कविहीन भएका, मृत्यु तथा घाइते भएका व्यक्तिहरूको विवरणसहित प्रभावित परिवारको अभिलेख संकलन गरिने इन्सेकले जनाएको छ। साथै, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्थाबारे समेत जानकारी संकलन गरिनेछ।

इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले बाढी प्रभावित क्षेत्रको वास्तविक क्षतिको विवरण संकलनसँगै विपद्का कारण उत्पन्न मानव अधिकार संकटको समाधान र सहजीकरणमा सहयोग पुर्‍याउन कार्यालय स्थापना गरिएको बताउनुभयो।

इन्सेकका सूचना अधिकारी कृष्ण गौतमका अनुसार कार्यालयले नुवाकोटको मानव अधिकार अवस्थाको निरन्तर अनुगमन गर्नेछ। बाढी प्रभावित नागरिकको मानव अधिकार संरक्षण तथा उनीहरूलाई आवश्यक राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गरी सरकारलाई आवश्यक सहयोग पुर्‍याउने उहाँले बताउनुभयो।

बाढीपछिको अवस्थाबारे तथ्यगत विवरण संकलन गरी प्रभावित नागरिकका आवश्यकता पहिचान गर्न तथा राहत, उद्धार र पुनःस्थापनाका प्रयासलाई प्रभावकारी बनाउन कार्यालयले समन्वयकारी भूमिका निर्वाह गर्ने जनाएको छ।

Source: https://samacharbichar.com/news/11635/

Source: https://www.onlinenuwakot.com/news/28713/