बालसुधार गृहका किशोरलाई मनोसामाजिक सचेतना
हिमालय टाइम्स डटकम । २०८३ भदौ २२ गते
हेटौँडा । हेटौँडा–११, थानाभर्याङस्थित बालसुधार गृहमा रहेका किशोरहरूका लागि मनोसामाजिक सचेतना तथा आत्महेरचाहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक, मानव अधिकार रक्षक सञ्जाल बागमती प्रदेश र सुनौलो शिक्षा नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बालसुधार गृहमा रहेका ७२ जना किशोरलाई मनोसामाजिक स्वास्थ्य, आत्महेरचाह तथा सकारात्मक सोचका विषयमा सचेतना प्रदान गरिएको हो ।
कार्यक्रममा सुनौलो शिक्षा नेपालका अध्यक्ष तथा मनोसामाजिक परामर्शकर्ता आशिष दुलालले आत्महेरचाह, प्रेरणादायी सोच तथा मनोसामाजिक स्वास्थ्यलगायत विषयमा प्रशिक्षण तथा परामर्श दिनुभएको थियो ।
सहभागी किशोरलाई तनाव व्यवस्थापन, सकारात्मक सोचको विकास तथा दैनिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे समेत जानकारी गराइएको थियो ।
बालसुधार गृहका प्रमुख प्रदीप गौतमले सुधार गृहमा रहेका बालकका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले किशोरहरूको मानसिक तथा भावनात्मक विकासमा मनोसामाजिक सचेतनाले महत्वपूर्ण भूमिका खेल्ने भन्दै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
सुधार गृहमा रहेका किशोरलाई अनुशासनसँगै मानसिक स्वास्थ्य, आत्मविश्वास तथा सकारात्मक जीवनदृष्टिकोण विकास गर्ने अवसर प्रदान गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
Source: https://shorturl.at/0Emt4
HUMAN RIGHTS NEWS PORTAL






