मानव अधिकार रक्षक सञ्जाल विस्तारमा जोड

समाचार दैनिक डटकम । २०८३ असोज २९ गते

जनकपुरधाम । मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनलाई प्रभावकारी बनाउन प्रदेशदेखि जिल्लास्तरसम्म मानव अधिकार रक्षक सञ्जाल विस्तार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

मानव अधिकार रक्षक सञ्जालको प्रदेशस्तरीय त्रैमासिक बैठकमा सहभागी वक्ताहरूले मानव अधिकार उल्लङ्घनका घटनाको पहिचान, पीडितलाई न्यायमा पहुँच तथा राज्यका निकायलाई जवाफदेही बनाउन मानव अधिकारकर्मीहरूबीच एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् ।

सञ्जालका संयोजक राजकुमार महासेठको अध्यक्षतामा जनकपुरधाममा सम्पन्न बैठकमा राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले मानव अधिकार संरक्षणका लागि रक्षकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले पीडितको पक्षमा निष्पक्ष पैरवी, घटनाको तथ्यमा आधारित अभिलेखीकरण तथा कानुनी प्रक्रियामा सहजीकरण गर्नुपर्ने उल्लेख गर्दै सञ्जाललाई व्यवस्थित बनाउन स्पष्ट कार्ययोजना र कार्यविधि आवश्यक रहेको बताए ।

सहनीले मानव अधिकार रक्षकहरूले पीडितको गोपनीयता र सुरक्षालाई प्राथमिकता दिँदै सम्बन्धित निकायसँग समन्वय गर्नुपर्नेमा जोड दिए । व्यक्तिगत तथा संस्थागत रूपमा भइरहेका प्रयासलाई एकीकृत गरी संयुक्त पहल अघि बढाउन सके मानव अधिकार उल्लङ्घनका घटनाको सम्बोधन प्रभावकारी हुने उनको भनाइ थियो ।

महिला मानव अधिकारकर्मी तथा अधिवक्ता रेखा झाले महिला, बालबालिका, दलित र सामाजिक रूपमा पछाडि पारिएका समुदायमाथि हुने हिंसा, विभेद तथा अन्यायविरुद्ध सञ्जालले विशेष ध्यान दिनुपर्ने बताइन् । पीडितलाई कानुनी सहायता, आवश्यक परामर्श र न्यायमा पहुँच उपलब्ध गराउन प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले महिला मानव अधिकारकर्मीको सहभागिता र नेतृत्व बढाउनुपर्नेमा जोड दिइन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले सञ्जाललाई सक्रिय र परिणाममुखी बनाउन सदस्यहरूको जिम्मेवारी स्पष्ट पार्नुपर्ने बताए । नियमित बैठक, सूचना आदानप्रदान, क्षमता विकास तथा मानव अधिकार रक्षकको सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्लास्तरसम्म संरचना विस्तार गर्नुपर्ने उनको सुझाव थियो ।

ओरेक नेपालकी मधेस प्रदेश संयोजक विना सिंहले लैङ्गिक हिंसा तथा विभेदका घटनाको न्यूनीकरण र पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न महिला मानव अधिकारकर्मीको नेतृत्व अभिवृद्धि गर्नुपर्ने बताइन् ।

सञ्जालका सदस्य बलराम शाहले युवाको ऊर्जा, सिर्जनशीलता र सक्रियतालाई मानव अधिकार अभियानसँग जोड्नुपर्ने बताए । युवालाई आवश्यक ज्ञान, सीप र व्यावहारिक अनुभव प्रदान गरी सञ्जालका गतिविधिमा अर्थपूर्ण सहभागिता गराउन सके अभियान थप प्रभावकारी हुने उनको भनाइ थियो ।

आफन्त नेपालकी धनुषा जिल्ला संयोजक अमृता घिमिरेले सामाजिक सङ्घसंस्था र मानव अधिकारकर्मीबीच सहकार्य बढाउँदै समुदायस्तरमा सचेतना विस्तार गर्नुपर्ने बताइन् । महिला, बालबालिका तथा सीमान्तकृत समुदायमाथि हुने हिंसा, शोषण र विभेदका घटनाको पहिचान तथा सम्बोधनका लागि स्थानीयस्तरमै सञ्जालको पहुँच बढाउनुपर्ने उनले उल्लेख गरिन् ।

इन्सेकका पर्सा जिल्ला प्रतिनिधि तुलसी भण्डारीले जिल्लामा सञ्जाल गठन नहुँदा मानव अधिकारसम्बन्धी गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको बताए । उनले चाडपर्वलगत्तै सञ्जाल गठन गर्ने तयारी रहेको जानकारी दिँदै मानव अधिकारकर्मीलाई सहकार्यका लागि आग्रह गरे ।

मानव अधिकारकर्मी विनोद महाराले सांस्कृतिक परम्पराका क्रममा महिलाको मर्यादा, सहमति र सुरक्षाको सम्मान गर्नुपर्ने बताए । विशेषगरी झिझिया नृत्यका क्रममा महिलामाथि हुन सक्ने विभेद तथा दुर्व्यवहारप्रति सचेत रहनुपर्ने उनको भनाइ थियो ।

इन्सेककी रौतहट जिल्ला प्रतिनिधि गौरी न्यौपानेले महिलाका समस्या सम्बोधन गर्न राष्ट्रिय महिला आयोगजस्तै पुरुषका समस्या सम्बोधन गर्ने छुट्टै निकाय वा आयोगको आवश्यकता औँल्याइन् । एम्नेस्टी इन्टरनेसनल नेपाल, धनुषाका संयोजक मनिष झाले मानव अधिकार संरक्षणको अभियान निरन्तर चलिरहने उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा मानव अधिकार उल्लङ्घनका घटनाको अनुगमन, अभिलेखीकरण, सञ्जालको संस्थागत विकास, मानव अधिकार रक्षकको क्षमता अभिवृद्धि तथा पीडितलाई न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागी मानव अधिकारकर्मी, सञ्जालका सदस्य तथा सञ्चारकर्मीबीच नेपालीहरूको महान् चाड बडादशैँ, दीपावली र छठ पर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।

Source: https://shorturl.at/cZj4W