मानव अधिकार समूहका पदाधिकारीहरूका लागि दुईदिने क्षमता विकास तालिम सम्पन्न

एभरेष्ट आवाज डटकम । २०८२ जेठ २० गते

पोखरा । पोखरामा शनिबार र आइतबार दुई दिनसम्म सञ्चालित मानव अधिकार समूहका पदाधिकारीहरूका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ।

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलका अनुसार, तालिम मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत नवलपुर र कास्की जिल्लामा गठन गरिएका मानव अधिकार समूहका पदाधिकारीहरूलाई लक्षित गरी आयोजित गरिएको हो। तालिम जेठ १७ र १८ गते पोखरामा सञ्चालन गरिएको थियो।

उहाँका अनुसार, नवलपुरको देवचुली र मध्यविन्दु नगरपालिका तथा कास्कीको मादी र माछापुच्छ्रे गाउँपालिकामा विगत तीन वर्षदेखि इन्सेकले सचेतना र जवाफदेहितामा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।राष्ट्रिय मानव अधिकार आयोगकी निर्देशक नितु गतौलाले मानव अधिकारको अवधारणा र मानव अधिकारकर्मीको भूमिकाबारे प्रशिक्षण दिइन्। महिला अधिकार र कार्यान्वयनको अवस्थाबारे अधिकारकर्मी सवन्नम शर्माले प्रशिक्षण दिइन्। जातीय विभेद विरुद्धको अधिकारका विषयमा संविधान सभा सदस्य तथा अधिकारकर्मी डि.बि. नेपालीले प्रशिक्षण दिए।

अनलाइन दुर्व्यवहारका कारण र परिणामबारे सिविन नेपालका संयोजक शंकर नेपालीले प्रशिक्षण दिएका थिए भने बालअधिकार र संविधानमा बालअधिकारसम्बन्धी सत्र इन्सेकका संयोजक शिवप्रसाद खकुरेलले सञ्चालन गरे।

तालिमको दोस्रो दिन, मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ विषयमा सवन्नम शर्माले, सुशासन प्रवर्द्धनमा नागरिक समाजको भूमिका विषयमा भानु पराजुलीले, नेपालको संविधान र मौलिक हकबारे अधिवक्ता गिरधारी सुवेदीले प्रस्तुति दिएका थिए। त्यस्तै, अपांगता अधिकारका विषयमा राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले प्रशिक्षण दिए भने नेतृत्व र नेतृत्व विकाससम्बन्धी सत्र पत्रकार दिपेन्द्र श्रेष्ठले सहजिकरण गरेका थिए ।

कार्यक्रमको उद्घाटन तथा समापन दुवै सत्र प्रदेश मानव अधिकार सञ्जाल गण्डकीका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। समापनमा सहभागिहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको संयोजक खकुरेलले बताए । उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा रामाआ पोखराका निर्देशक नितु गतौलाको उपस्थिति थियो। विशिष्ट अतिथिमा गोपाल खड्का, महिला अधिकारकर्मी सवन्नम शर्मा, मानव अधिकार सञ्जालका प्रतिनिधिहरू र विभिन्न पालिकाबाट आएका सहभागी पदाधिकारीहरूको सक्रिय सहभागिता थियो।

Source: https://everestawaj.com/2025/06/02/108941/