मौन अवधिमा आचारसंहिता पालना गर्न इन्सेकको आग्रह, ७७ जिल्लामा अनुगमन जारी
पब्लिक प्रेस डटकम । २०८२ फागुन १८ गते
काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन मौन अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको छ।
इन्सेकले देशभरका ७७ जिल्लामा पर्यवेक्षक परिचालन गरी निर्वाचनपूर्व, मतदानका दिन र मतदानपछिको अवस्थासमेत अनुगमन गरिरहेको जनाएको छ। मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि, आर्थिक प्रलोभन, दुष्प्रचार तथा आचारसंहिता विपरीतका क्रियाकलाप बढ्न सक्ने जोखिम रहने भएकाले सम्बन्धित निकायले कडाइ गर्नुपर्ने संस्थाको भनाइ छ।

निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई लोकतान्त्रिक अभ्यासप्रति जनविश्वास कायम गर्ने महत्वपूर्ण अवसर भएकाले मतदाताले बिना दबाब, त्रास र प्रलोभन स्वतन्त्र रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्न राज्यको प्रमुख दायित्व रहेको इन्सेकले उल्लेख गरेको छ।
राजनीतिक दल, उम्मेदवार तथा सबै सरोकारवालाले जिम्मेवार र संयमित भूमिका निर्वाह गर्दै आचारसंहिताको पूर्ण पालना गर्न इन्सेकले आह्वान गरेको छ।
Source: https://shorturl.at/qZKbi
HUMAN RIGHTS NEWS PORTAL






