व्यवसायमा मानव अधिकारको संरक्षण गर्नुपर्नेमा जोड
पश्चिम टुडे डटकम । २०८३ असोज १२ गते
धनगढी । व्यवसाय क्षेत्रसँग जोडिएका श्रमिक, उपभोक्ता, महिला तथा बालबालिकाको मानव अधिकार संरक्षणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा हिजो धनगढीमा भएको ‘व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था’ विषयक अन्तर्क्रियामा सहभागी सम्बन्धित सरोकारवालाले यस्तो बताएका हुन्।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडक राज जोशीले व्यवसायसँग उपभोक्ता, श्रमिक, महिला तथा बालबालिका प्रत्यक्ष जोडिने भएकाले उनीहरूको अधिकार र सुरक्षाका विषयलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा निजी क्षेत्रमा कार्यरत श्रमिकले करार सम्झौता, उचित ज्याला, कामको समय तथा सामाजिक सुरक्षाजस्ता सुविधा नपाएको, व्यवसायिक संरचना अपाङ्गमैत्री नभएको, चाडपर्वमा यातायात भाडा बढ्ने तथा बजारमा एउटै वस्तुको फरक–फरक मूल्य कायम हुने विषय उठाइएको थियो।
महिला मानव अधिकार रक्षक सञ्जाल कैलालीकी अध्यक्ष अम्बिका भण्डारीले इँटा भट्टामा काम गर्ने श्रमिकलाई स्वास्थ्य जोखिमबारे सचेत गराउँदै व्यवसायीले उपचारको जिम्मेवारी लिनुपर्ने बताइन्। ओरेक नेपालकी प्रमुख गीता चौधरीले निजी क्षेत्रका श्रमिकको करार सम्झौता र न्यूनतम ज्यालाका विषयमा ध्यान दिनुपर्ने बताइन्।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले व्यवसायीले मुनाफासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणमा योगदान गरिरहेको बताए। उनले व्यवसायी, उपभोक्ता र श्रमिकको हितका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताए।
राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव मानबहादुर कार्कीले व्यवसायमा श्रमिक तथा उपभोक्ताको अधिकार, उचित ज्याला, कामको समय, उपचार, सामाजिक सुरक्षा, सम्मान र संरक्षण सुनिश्चित गर्नुपर्ने विषयमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा सञ्चारकर्मी, मानव अधिकारकर्मी, सुरक्षा निकाय, कानुन व्यवसायी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
Source: https://paschimtoday.com/news-details/99097/2026-09-28
HUMAN RIGHTS NEWS PORTAL







