‘व्यवसाय र मानवअधिकार’ विषयक अन्तरक्रिया सम्पन्न

नेपाल खबर डटकम । २०८३ मंसिर ३ गते

नेपालगन्ज ३ मंसिर : व्यावसायिक क्षेत्रमा मानवअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जमा ‘व्यवसाय र मानवअधिकार’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

डिसिए र नेपालगन्ज उद्योग वाणिज्य संघसँगको साझेदारीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले आर्थिक विकाससँगै श्रमिकको हकहित, सुरक्षित कार्यस्थल र वातावरणीय सन्तुलन कायम राख्नु व्यवसायीहरूको प्रमुख दायित्व भएको बताए । उनले व्यवसाय सञ्चालन गर्दा मानवअधिकारका आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गरेमा मात्र दीगो आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरे ।

अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता वसन्त गौतम र राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जकी प्रमुख द्वारिका अधिकारीले नेपाल सरकारले जारी गरेको ‘व्यवसाय र मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना’ को कार्यान्वयन अवस्था र निजी क्षेत्रको भूमिकाबारे प्रकाश पारेका थिए । उनीहरुले व्यवसायमा बालश्रम न्यूनीकरण, लैङ्गिक समानता, उचित ज्याला र उपभोक्ताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा सहभागी उद्योगी तथा व्यवसायीहरूले व्यवसाय मैत्री नीति निर्माण र कार्यान्वयनमा राज्यले सहजीकरण गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा सहभागि उधोगी व्यवसायीहरुले निजी क्षेत्र मानवअधिकारको सम्मान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै श्रम ऐन र अन्य कानूनी प्रावधानहरूको व्यवहारिक कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका थिए । सहभागीहरूले व्यावसायिक आचारसंहिता पालना गर्दै मर्यादित रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जिवी ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) लुम्बिनी प्रदेश संयोजक भोला महतले व्यवसाय र मानवअधिकार विषयक अन्तरक्रियाको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा नमस्कार शाह, सुरेश कुमार गौतम, प्रभात सिंह ठकुरी, ताराप्रसाद खत्री, फणाधर भण्डारी र मो. सफिक बागवानले व्यवसाय र मानअवधिकारका विषयमा आफ्ना धारणा राखेका थिए । 

यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी प्रतित सिंह राठौर, उच्च अदालत बार एशोसियशन नेपालगन्जका अध्यक्ष पवन गुप्ता, जिल्ला बार एशोसियशन बाँकेकी अध्यक्ष पुनम श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, एनजिओ फेडेरेशन बाँकेका अध्यक्ष मन भण्डारी, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ र रविन्द्र कर्णले समेत आफ्ना धारणा राखेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव विष्णु श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेको इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले जानकारी दिए ।

Source: https://www.nepakhabar.com/posts/3513-vayavasaya-ra-manavaathhakara-vashhayaka-anatarakaraya-samapanana

Source: https://www.bageshworipost.com/detail/17757