हिंसा प्रभावितलाई सहयोगसँगै न्यायमा जोड्नुपर्नेमा जोड
समाचार दैनिक डटकम । २०८३ असोज १६ गते
जनकपुरधाम १६ असोज । हिंसा प्रभावितलाई उपलब्ध गराइने आर्थिक सहयोगलाई राहतमा मात्र सीमित नराखी न्यायिक उपचार र आवश्यक संरक्षणसँग जोड्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
डीसीएको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्षको असोज १४ गते जनकपुरधाममा बसेको बैठकमा हिंसा प्रभावितलाई प्रदान गरिएको सहयोगको प्रभाव, उनीहरूको वर्तमान अवस्था र न्यायमा पहुँचबारे छलफल गरिएको हो।
सहायता कक्षका संयोजक अधिवक्ता राजकुमार महासेठले सहयोगपछि पनि पीडितको अवस्था निरन्तर अनुगमन गर्नुपर्ने बताए। राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका मानव अधिकार अधिकृत राहुलकुमार ठाकुरले सहयोग प्राप्त गरेका पीडितको न्यायिक तथा सामाजिक अवस्थाको अभिलेख राख्दै आवश्यक थप सेवा र संरक्षणका लागि समन्वय गर्नुपर्नेमा जोड दिए।
एमनेष्टी इन्टरनेशनलकी जमुना भुजेलले आर्थिक अभावका कारण हिंसा प्रभावित महिला तथा बालिका न्यायिक प्रक्रियाबाट बाहिरिन नदिन आवश्यक सहयोग निरन्तर हुनुपर्ने बताइन्।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले हिंसा प्रभावितलाई तत्काल आर्थिक सहयोगसँगै कानुनी परामर्श, न्यायिक निकायसम्मको पहुँच र संरक्षणका सेवासँग जोड्न मानव अधिकार रक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताए।
बैठकमा सिरहाका दुई र रौतहटका एक गरी तीन जना हिंसा प्रभावितलाई जनही १० हजार रुपैयाँका दरले उपलब्ध गराइएको सहयोग अनुमोदन गरिएको थियो। साथै सहयोगपछि पीडितको अवस्था, न्यायिक प्रक्रियामा पहुँच र थप आवश्यकताबारे निरन्तर अनुगमन गर्ने निर्णय गरिएको छ।
बैठकमा मानव अधिकारकर्मी, कानुन व्यवसायी, पत्रकार तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिको सहभागिता थियो।
Source: https://shorturl.at/EUyCg
HUMAN RIGHTS NEWS PORTAL







