भावपूर्ण श्रद्धाञ्जली
संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान भएको असामयिक निधनले हामी मर्माहत भएका छौँ । शोकको यस घडीमा मानवअधिकार सचेत राजनीतिक व्यक्तित्व स्वर्गीय नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । उहाँका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य हुनुभएका नेम्वाङ २०५६ सालदेखि निरन्तर इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आउनु भएको थियो ।
नेपालको संविधानमा मानव अधिकार, बहुलवादलगायत सामाजिक न्यायको प्रत्याभूत गर्ने कैयौँ अग्रगामी प्रावधान समावेश गर्न संविधानसभाको अध्यक्षको हैसियतमा उहाँले ऐतिहासिक जिम्मेवारी निर्वाह गर्नु भएको थियो । नेपालमा मानव अधिकार संवैधानिक संयन्त्रको स्थापनाका लागि पहिलो पटक पहल सुरु गर्दै नेम्वाङले २०४९ सालमा राष्ट्रियसभामा राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी ‘सङ्कल्प प्रस्ताव’ दर्ता गर्नु भएको थियो । पुनर्स्थापित संसद्ले २०६३ सालमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान पारित गर्न संकल्प प्रस्ताव पारित गर्दा उहाँ सभामुख हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ नेपालको शान्ति प्रकृयालाई दीगो र न्यायपूर्ण रूपमा टुङ्ग्याउन सकृय हुनु हुन्थ्यो । उहाँको मत नेपालकोृ शान्ति र सङ्क्रमणकालीन न्यायको प्रकृयालाई मौलिक ढङ्गले नेपालभित्रैबाट टुङ्ग्याउनुपर्छ भन्ने रही आएको थियो । नेम्वाङको निधनले नेपालको लोकतान्त्रिक राजनीति र मानवअधिकार आन्दोलनमा अपूरणीय क्षति पुगेको छ । लोकतन्त्र, सामाजिक न्याय र मानवअधिकारको संरक्षण तथा सम्वर्धनका लागि आजीवन समर्पित नेम्वाङ जनताको स्मृतिमा सदैव जीवित रही रहनु हुनेछ ।
डा. कुन्दन अर्याल
अध्यक्ष