०६२ असार १ गते
प्रेस विज्ञप्ति
कैलाली घटनाका सम्बन्धमा इन्सेकको दोश्रो प्रेस विज्ञप्ति
कैलाली जिल्लामा सुरक्षाकर्मी परिवारका एक दूधेबालकसहित छ जनाको हत्याका सम्बन्धमा आज अपरान्ह नेकपा (माओवादी)ले एक प्रेस वक्तव्य जारी गरी घटनाको जिम्मेवारी नलिने जनाएपछि इन्सेकका तर्फाट यो दोश्रो प्रेस विज्ञप्ति जारी गरिएको छ । माओवादीले उक्त घटनामा आफ्नो पार्टीको हात रहेको “आरोपको कडा प्रतिवाद गर्दछौं” भन्ने जनाएपछि घटनाक्रमले नयाँ मोड लिएको छ । तर, माओवादीको जनमुक्ति सेना, नेपालको पश्चिम डिभिजन कार्यालयका प्रभाकरका तर्फबाट जारी गरिएको उक्त वक्तव्यका आधारमा मात्र त्यस घटनाका सम्बन्धमा माओवादी पार्टीले उन्मुक्ति पाउने अवस्था भने छैन । यस घटनाका सम्बन्धमा मानवअधिकार समुदायले गहन छानबिन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । घटना रहस्यमय बन्नसक्ने यस क्षणमा हामी संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगको नेपालस्थित कार्यालयलाई छानबिनका निम्ति तत्काल अग्रसर हुन हार्दिक अनुरोध गर्दछौं ।
कारक जुनसुकै तत्व भए पनि उक्त घटना मानवताविरुद्धको कलंक भएको कुरामा हामी पुनः जोड दिँदै घटनाको भर्त्सना गर्दछौं । साथै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । हामी जोडदार माग गर्दछौं।
सुबोधराज प्याकुरेल
अध्यक्ष