२०७९ मङ्सिर ३ गते

संविधान प्रदत्त सार्वभौम अधिकारको प्रयो गरौँ

 

भोलि मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । नेपालको संविधानमा नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहित हुने व्यवस्था रहेको छ । आवधिक निर्वाचन आफैँमा त्यो अवसर हो, जसमार्फत् नागरिकले राज्य सञ्चालनलाई निर्देशित गर्छन् । आफ्ना लागि नीति बनाउने र त्यसको कार्यान्वयनमार्फत् आफ्नो जीवनस्तर सुधार्न पहल गर्ने प्रतिनिधि चुनेर पठाउँछन् ।
संविधान जारी भएपछिको यो दोस्रो निर्वाचन हो । आवधिक निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न मद्दत पुर्‍याउँछ । जनताको अभिमत अनुसार शासन व्यवस्थाको सञ्चालन हुने भएकाले लोकतन्त्रलाई सबैभन्दा सुन्दर शासन व्यवस्था भनिन्छ ।

निर्वाचनका लागि आवश्यक प्रशासनिक, कानुनी र सुरक्षा प्रबन्ध पूरा भएको निर्वाचन आयोगले जनाएको छ । हामीले गर्ने मतदानबाट छानिने प्रतिनिधिले देशको नीति निर्माण गर्ने भएकाले सही प्रतिनिधि छान्नु आम मतदाताको कर्तव्य हो । यसर्थ स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको दायित्व हो भने आफूलाई मन परेको उम्मेदवार छान्न पाउनु जनताको नैसर्गिक अधिकार हो । त्रास,धम्की,प्रलोभनमा नपरी मतदानमा सहभागी हुन हामी अपिल गर्दछौँ ।

 

Signature of Dr. Indira Shrestha copy

डा.इन्दिरा श्रेष्ठ
अध्यक्ष